दुई प्रधानमन्त्री निष्काशित

दुई प्रधानमन्त्री निष्काशित


नेपाली काङग्रेसको इतिहासमा यो पार्टीले दुई जना बहालवाला प्रधानमन्त्रीलाई पार्टीको साधारण सदस्यसमेतबाट निष्काशन गरेको छ । त्यसरी निष्काशनमा पर्ने मातृकाप्रसाद कोइराला र शेरबहादुर देउवा हुन् ।

२००९ साल साउन ६ गते कांग्रेसको केन्द्रीय कार्यसमितिले तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई ११ सदस्यीय मन्त्रिपरिषद्को संख्या घटाएर ७ मा झार्न निर्देशन दियो । प्रधानन्त्रीले पार्टी निर्देशनको अवहेलना गरे । अनि उनकै राजीनामा मागियो । प्रधानमन्त्री मातृकाप्रसाद तथा मन्त्रीहरू महावीरशमशेर र महेन्द्रविक्रम शाहले काङ्ग्रेस कार्यसमितिबाटै राजीनामा दिए ।

उता सुवर्णसमसेर राणा, गणेशमान सिंह र सूर्यप्रसाद उपाध्यायले पार्टी निर्देशन पालना गर्दै मन्त्रिपरिषद्बाट राजीनामा गरे । यो विवादमा काङ्ग्रेसले फेरि प्रधानमन्त्री मातृकाप्रसाद कोइराला, मन्त्रीहरू नारदमुनि थुलुङ र महेन्द्रविक्रम शाहलाई ४८ घन्टाभित्र राजीनामा पेस गर्न आदेश दियो । तीनै जनाले राजीनामा गर्न अस्वीकार गरे । प्रधानमन्त्री मातृकासहित तीन जनालाई ३ वर्षका लागि पार्टीको साधारण सदस्यबाट निष्काशन गरियो । पार्टीको आन्तरिक विवाद चरमचुलीमा पुगेपछि २००९ साल साउन २६ गते मातृकाप्रसादले प्रधानमन्त्री पदबाट राजीनामा गरे ।

त्यसको ५० वर्षपछि २०५९ असारमा आफ्नै पार्टीका प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीको साधारण सदस्यबाट ३ वर्षका लागि निष्काशन गरियो । २०५९ जेठ ८ गते अप्रत्यासित रूपमा संसद् विघटन गरेकाले प्रधानमन्त्री देउवालाई नेपाली कांग्रेसले ३ वर्षका लागि साधारण सदस्यबाट निष्काशन गरेको हो । देउवा सरकारमा सहभागी सबै मन्त्रीको राजीनामा मागिएको थियो । तर तीनजना मन्त्रीले मात्र राजीनामा दिए । राजीनामा गर्नेमा डा. रामशरण महत, आमोदप्रसाद उपाध्याय र राजेन्द्र खरेल थिए । र, पछि महेश आचार्यले पनि राजीनामा दिए ।

दुवैपटक प्रधानमन्त्रीलाई पार्टीले तीन वर्षका लागि साधारण सदस्यबाट समेत निष्काशन गर्नु संयोग नै भएको छ । रमाइलो त के छ भने पार्टीबाट निष्काशन भएपछि मातृकाले अर्को पार्टी खोले । २०१० असारमा प्रजा पार्टीको अध्यक्षको हैसियतले उनी नै प्रधानमन्त्री भए । देउवाले पनि नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक) पार्टी खोले । राजाबाट उनी पनि पुनः प्रधानमन्त्री नियुक्त भए ।

यहाँ अर्को संयोग पनि जुरेको छ यो के भने नयाँ पार्टी खोलेपछि दुवै जना असार महिनामै प्रधानमन्त्री नियुक्त भए । देउवाले दरबारलाई अनुकूल हुने निर्णय गरे । सुविधा थपे । उता मातृकाले पनि पार्टीका सहकर्मीभन्दा राजाको इच्छानुसार काम गरे । प्रशासनका प्रमुख र महत्वपूर्ण पदमा सात सालको क्रान्ति दबाउन सक्रिय रहेका राणाकालीन भारदार नियुक्त गरिए । कोइरालाले राजा र राजपरिवारको भत्ता दोब्बर वृद्धि गरे । यता देउवाले पनि दरबार र सेनालाई रिझाउने काम गरे ।

(जगत नेपालकृत ‘सदन, सत्ता र सडकमा काङ्ग्रेस’बाट)