धावक रामसुन्दर कार्कीले ललितपुरदेखि जनकपुरसम्म दौडने भएका छन् । आगामी पुस १ गते ललितपुरको गोदावरी नगरपालिकाको गोदामचौरस्थित कार्कीटोलबाट दौड यात्रा प्रारम्भ गर्ने उनले जानकारी दिएका छन् ।
गोदामचौर निवासी कार्की आफैले निर्माण गराएको हनुमान मन्दिरबाट दौड सुरु गर्ने बताए ।
धावक कार्की गोदामचौरदेखि जनकपुरसम्म दोश्रो पटक दौडन लागेका हुन् । करिव २ सय २५ किलोमिटर दूरी ३ दिनमा तय गर्ने उनले बताए । ‘मदिरामुक्त समाज’ नाराका साथ गर्न लागिएको उनको दौड जनकपुरको रामजानकी मन्दिर पुगेपछि टुंगिने छ ।
कार्कीको दौडलाई नेपाल शाकाहारी पार्टी र फुड बैंकले सहयोग गर्ने भएको छ । शाकाहारी पार्टीका केन्द्रीय अध्यक्ष राधे खड्काले पनि व्यक्तिगत रुपमा कार्कीको दौडलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्की २०६४ सालमा १ सय १ दिन लगाइ दौडिएर ७५ जिल्ला पुगेका थिए । त्यस्तै, उनले काठमाडौं–लुम्बिनी ६ पटक, काठमाडौं–सिन्धुली ३ पटक, काठमाडौं–दोलखा ३ पटक र विश्व पर्यटन दिवसका अवसरमा काठमाडौं–पोखरा एक पटक दौडिसकेका छन् ।
४९ वर्षीय कार्कीले काठमाडौं–उत्तरप्रदेश–बिहार तथा काठमाडौं–भारतको पश्चिम बंगाल–भुटान दौडेर ओहोरदोहोर समेत गरेका छन् ।
दौडबाट संकलित रकम धार्मिक र सामाजिक कार्यमा पनि सहयोग गर्ने उनले बताए । ‘विगतमा पनि दौडहरुबाट संकलित केही प्रतिशत रकम धार्मिक र सामाजिक कार्यमा लगाएकोे थिएँ, यसपटक पनि सहयोगलाई निरन्तरता दिने छु’– कार्कीले भने ।
उनको दौडलाई पूर्वधावक ओलम्पियन कृष्णबहादुर बस्नेत नेतृत्वको टोलीले निगरानी गर्ने बताइएको छ ।
प्रतिक्रिया