मुम्बई आइपीएल च्याम्पियन, पाँचौ पटक जित्यो उपाधि

मुम्बई आइपीएल च्याम्पियन, पाँचौ पटक जित्यो उपाधि



इन्डियन प्रीमियर लीग (आइपीएल)को १३औँ संस्करण मुम्बई इन्डियनले जितेको छ । दुबईमा भएको फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई पाँच विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो ।

आइपीएलमा मुम्बईको यो पाँचौँ विजय हो भने लगातार दोश्रो विजय हो । मुम्वईले यसअघि सन २०१३, २०१५, २०१७ र २०१९ मा आईपीएलको उपाधि जितेको थियो । २०२० को आईपीएल च्याम्पियन बनेसंगै मुम्वई सर्वाधिक उपाधि जित्ने टीम बनेको छ । मुम्वईले पाँच वटै उपाधि रोहित शर्माको कप्तानीमा जितेको हो ।

फाइनलमा पहिलो व्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा १ सय ५६ रन बनाउँदै मुम्बईलाई विजयको लागि १ सय ५७ रनको चुनौंति पेस गरेको थियो । मुम्बईले उक्त लक्ष्य १८.४ ओभरमा पुरा गर्दै पाँच विकेटले जितेको हो । मुम्बईका लागि कप्तान रोहित शर्माले उत्कृष्ट ब्याटिङ गर्दै ६८ रन बनाएका थिए । रोहितले ५१ बलमा ५ चौका र ४ छक्का प्रहार गरेका थिए ।

पहिलो पटक आईपीएलको फाइनलमा पुगेको दिल्लीले फाइनल खेलको शुभारम्भको ३ ओभरमै दुई विकेट गुमाउदा दबावमा परेको थियो । दिल्लीले यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका शिखर धवनलाई सस्तैमा गुमाएपछि १ सय ५६ रनमै समेटिएको थियो । यसरी पहिलो पटक फाइनलमा पुगेर उपाधि जित्ने सपना देखेको दिल्लीको सपना सपनामै सिमित भएको थियो ।

विजयसंगै मुम्बइले २५ करोड र उपविजेता दिल्लीले १२ करोड ५० लाख भातीय रुपैयाँ प्राप्त गरेका छन । विजयपछि मुम्वई टीमकी मालिक नीता अम्वानीले खेलाडीहरुलाई क्रिकेट मैदानमै गएर बधाई दिएकी थिइन् ।

अहिलेसम्म आईपीएलको उपाधि पाँच पटक मुम्बई इन्डियनले जित्न सफल भएको छ । त्यस्तै चेन्नई सुपर किङ्गले तीन, कोलकोता नाइट राइडरले दुई, सनराइजर्स हैदरावादले एक, डेक्कन चार्जर्सले एक र राजस्थान रोयल्र्सले एक पटक उपाधि जित्न सफल भएका छन् ।