पर्यटकीय नगरी जिरीमा जारी जिरी ओपन फिडे रेटिङ चेस प्रतियोगितामा तीन पटकका राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपालीले एकल अग्रता कायम गरेका छन् ।
प्रतियोगितामा शतप्रतिसत नतिजा निकालेका बद्रीलालले तेश्रो चरणको खेलमा सर्लाहीका रविन्द्र बहादुर थापालाई पराजित गरे भने चौथो तथा पाँचौं चरणमा दोलखाका राजिव कार्की तथा सहदेव चौंलागाईमाथि जित हात पारे । पाँच चरणको खेल पश्चात पाँच अंक बनाएका बद्रीलालले छैटौं चरणको खेलमा दोलखा जिल्ला च्याम्पियन आशिष फुँयालको सामना गर्नेछन् ।
युवा संजाल जिरीको आयोजना तथा जिरी नगरपालीकाको सहयोमा जारी प्रतियोगिताको पाँचौं चरणको खेल बराबरीमा टुंग्याएका दोलखाका आशिष फुँयाल तथा ललितपुरका हेराकाजी मर्हजन समान ४ दशमलब ५ अंकका साथ संयुक्त दोश्रो स्थानमा रहेका छन् ।
यसअघि आशिषले तेश्रो तथा चौथो चरणमा क्रमशः ललितपुरका संजय महर्जन र स्याङ्जाका युवराज पौडेललाई हराए भने हेराकाजीले तेश्रो चरणमा रामेछापका दिल बहादुर सुनुवार तथा चौथो चरणमा गोरखाका गेहेन्द्र आचार्यमाथि जीत हात पार्न सफल रहे ।
पाँचौ चरणको खेल पश्चात युवराज पौडेल, राजीव कार्की, रविन्द्र बहादुर थापा र संजय महर्जनले समान ४-४ अंक बनाएका छन् । त्यस्तै रौतहटका रामचन्द्र दाहाल, रामेछापका दिल बहादुर सुनुवार, दोलखाका सहदेव चौंलागाईं, केवल खत्री, दिपक बस्नेत, ग्यालजेन शेर्पा, मधुकुमार श्रेष्ठ, धर्मानन्द दाहाल, डेन्डु शेर्र्पा, विवेक कार्की तथा संजय सुनुवार समान ३-३ अंक बनाउन सफल भए ।
फिडेको स्विस लिग प्रणाली अनुसार सात चरणमा सम्पन्न हुने प्रतियोगितामा १० रेटेड सहित कुल ४२ जना खेलाडीको सहभागीता रहेको छ ।
प्रतिक्रिया