किशोरकिशोरी लक्षित नेपाली उपन्यास ‘सेकुवा’

किशोरकिशोरी लक्षित नेपाली उपन्यास ‘सेकुवा’



आफूलाई बालबालिका भन्न पनि नरुचाउने अनि वयस्क पनि नभइसकेको अनौठो उमेर हो किशोरावस्था । मानसिक रुपमा सबल अनि बौद्धिक रुपमा प्रखर हुँदैनन् किशोरहरु तर आत्मविश्वास भने खाँदिखाँदी भरिएको हुन्छ यिनीहरुमा । त्यसैले त किशोरहरु जोशिला हुन्छन् अनि नयाँ कुराको असाध्यै धेरै भोक हुन्छ यिनीहरुमा । यही वयका पाठकहरुले त्यसैकारण पनि विविध विषयका वा विधाका पाठ्यसामग्रीको माग गरिरहेका हुन्छन् ।

हाम्रो विडम्बना, यस उमेरलाई सम्बोधित हुने खालका साहित्य छँदै छैन भन्दा पनि हुन्छ हामीकहाँ । किशोरकिशोरीलाई रोमाञ्च मन पर्छ । विपरित लिङ्गप्रतिको आकर्षण मन पर्छ । शारिरीक परिवर्तन वा यौनका बारेमा बुझ्न चाहन्छन् । सामाजिक वा देशभक्तिको भावना हुन्छ अलि बढी नै हुन्छ । यिनीहरु विभिन्न प्रयोगहरु रुचाउँछन् । सम्बन्धको प्रगाढता वा मित्रतालाई बढी नै प्राथमिकतामा राख्छन् । यिनीहरु सिर्जनशील हुन मन पराउँछन् । स्वैरकल्पना रुचाउँछन् । सँगसँगै जीवन र जगतका बारेमा बुझ्न चाहन्छन् । सबैलाई आफ्ना कुरा खुलेर भन्दैनन् तर कुरीति वा विसङ्गतिबिरुद्ध निर्धक्क बोल्न वा कार्यशिल हुन मन गर्छन् । उनीहरु चाहन्छन् उनीहरुका यिनै रुचिका क्षेत्रलाई सम्बोधित गरिएका किताबहरु होऊन् । तर नेपाली भाषामा उनीहरुका लागि लेखिएका पुस्तक नै कहाँ छन् ! बजार वा पुस्तकालयमा धुइँपत्ताल खोजि गरियो भने सायद एउटा सानो झोलामा अट्नेसम्मका पुस्तक पाइएला कि ! त्यो पनि गाह्रो छ ।


यो पुस्तक ‘सेकुवा’ किशोरकिशोरीका लागि एउटा कोसेली हो । किशोरकिशोरीका लक्षित किताब कै खडेरी भएको अवस्थाको लागि यो पूर्ण समाधान त होइन तर अभाव पुर्तिका लागि एउटा प्रयास भने पक्कै हो । यस किताबले उनीहरुको रोजाइमा रहेका सबै विषयलाई सम्बोधन गर्दैन । एउटा किताबले सबै विषयलाई समेट्नु पनि हुँदैन । उनीहरुसँग सम्बद्ध एकादुई विषयमा आधारित धेरै धेरै भन्दा किताब प्रकाशित हुनु जरुरी छ ।

‘सेकुवा’मा गजबको स्वैरकल्पना छ । कथावाचन वा प्रस्तुतिको शैलि नितान्त भिन्न छ । कथाका विभिन्न भागमा जीवनसँग सम्बद्ध साना साना दर्शनका कुरा छन् कथाकै अंशका रुपमा । कथा छोटो छ तर भागैपिच्छे कुतुहलता उब्जाउने घटनावली छन् । पात्रका व्यवहार शुद्ध र प्राकृतिक छन् । कथामा मोडहरु धेरै नै छन् तर मूल विषयबाट कथा भट्किएको छैन । कथा सन्तुलित छ, भाषा सरल र प्रस्ट छ । नेपाली बालसाहित्य (किशोर साहित्य)का लागि यो किताब एउटा प्रयोगका रुपमा आएको छ । समग्रमा किशोरवयका पाठकका लागि रुचिपूर्ण हुन सक्छ भन्ने हाम्रो ठम्याइ छ ।

किशोरकिशोरीका लागि कृष्णदीप सिग्देलको यो पहिलो किताब हो । यसअघि उहाँका २ बालउपन्यास प्रकाशित भइसकेका छन् भने चित्रपुस्तकलगायतका ७५ भन्दा बढी किताबहरु उहाँले प्रकाशित गरिसक्नुभएको छ । त्यस्तै युवापुस्ताका प्रखर र क्रियाशिल कलाकार सुमन महर्जनका सरस चित्रहरुले कथालाई अझ उजिल्याएका छन् ।

साङ्ग्रिला बुक्स् (साङ्ग्रिला बुक्स् चिल्ड्रेन) ले नवीन तथा प्रयोगधर्मी किताबको प्रकाशनलाई प्राथमिकतामा राखेको छ । यसैको उदाहरण हो यो पुस्तक । बालबालिकाका लागि नवीन शैलिका तथा किशोरकिशोरीका लागि विविध विषयका पुस्तक प्रकाशने हेतु केही पुस्तकको प्रारुप तयार भइरहेको छ । छिट्टै नै सम्बद्ध पाठकहरुमाझ ल्याउनका लागि काम भइरहेको छ ।

पुस्तक : सेकुवा
विधा : किशोर उपन्यास
लक्षित उमेर समूह : १२ देखि १५ वर्ष
लेखक : कृष्णदीप सिग्देल
चित्र : सुमन महर्जन
पृष्ठ संख्या : १७६+४
संस्करण : पहिलो (२०७७, कात्तिक)
प्रकाशक : साङ्ग्रिला बुक्स् (साङ्ग्रिला बुक्स् चिल्ड्रेन)