माफी माग्दै १३औँ सागको खर्च विवरण सार्वजनिक

माफी माग्दै १३औँ सागको खर्च विवरण सार्वजनिक



राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले ‘साग’को खर्च विवरण पेश गर्न विलम्ब भएकोमा माफी मागेका छन् । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को खर्च विवरण तोकिएको समयमा सार्वजनिक गर्न नसकेका कारण सिलवालले माफी मागेका हुन् ।


१३औँ साग सम्पन्न भएको तीन महिनाभित्र सागको सम्पूर्ण हिसाबकिताब सार्वजनिक गर्ने सदस्यसचिव सिलवालले प्रतिबद्धता जनाएका थिए । जसअनुसार गत फागुन महिनाभित्र हिसाबकिताब सार्वजनिक हुनुपर्ने थियो । तर आफ्नो बोली पूरा गर्ने सवालमा कमजोरी प्रदर्शन गर्दै आएका सदस्यसचिव सिलवालले मिति नै तोकेर बाचा गरे पनि उक्त प्रतिबद्धता समयमा पूरा गर्न नसक्दा झण्डै एक वर्षको समय लागेको थियो ।


गत मंसिर १५ देखि २४ गतेसम्म सञ्चालन भएको १३औँ सागको खर्च विवरण २०७७ मंसिर १४ गते सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलन गरेर खर्च विवरण सार्वजनिक गर्ने क्रममा सदस्यसचिव सिलवालले विविध कारण देखाउँदै ढिलाइ भएकोप्रति क्षमायाचना गरेका हुन् । सिलवालले आफ्नो अक्षमता स्वीकार गर्नुको साटो खर्च विवरण सार्वजनिक गर्न ढिलो हुनुमा काठमाडौं, पोखरा र जनकपुरलाई दोषी औंल्याएका थिए । काठमाडौं पोखरा र जनकपुरले समयमै हिसाब किताब नपठाउँदा ढिलो भएको सिलवालको दाबी थियो ।


त्यस्तै, आफुले तीन महिनामै १३औँ सागको खर्च विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाएकै कारण ती सम्बन्धित निकायलाई समयमै खर्च विवरण बुझाउन दुई पटक सूचनासमेत प्रकाशित गरेको जानकारी गराए । साथै, यसै समयमा विश्वव्यापी रूपमा महामारीको रूपमा फैलिएको कोभिड–१९ले पनि खर्च विवरण सार्वजनिक गर्नमा बाधा अडचन आएको सिलवालले जानकारी गराए । सिलवालको प्रतिबद्धताअनुसार १३औँ सागको खर्च विवरण फागुनभित्र सार्वजनिक हुनुपथ्र्यो, यो समयमा कोभिड महामारी शुरु भएकै थिएन । नेपालमा कोभिडको सङ्क्रमण चैत्र महिनाको दोश्रो सातादेखि मात्रै देखिएको हो ।


त्यस्तै, १३औँ दक्षिण एसियाली खेलकुदमा सहभागी राष्ट्रहरूबाट प्राप्त रकम र खर्चअनुरुपको हिसाब फरफारक गर्न सार्क राष्ट्रका सम्पूर्ण सहभागी देशहरूको ओलम्पिक कमिटीको पनि स्वीकृति लिनुपर्ने बाध्यात्मक प्रावधानका कारणले पनि खर्च विवरण सार्वजनिक गर्न ढिलाई भएको सदस्यसचिव सिलवालको कथन थियो । राखेपले तोकिएको मितिमा हिसाब सार्वजनिक गर्न लेखा परीक्षण गराइ सार्वजनिक गर्न खोजेको तर परिस्थितिवश सोचेजस्तो नभएको बताए । हाल कोलेनिकाबाट आन्तरिक लेखा प्ररीक्षण भइसकेको र महालेखा प्ररीक्षण अन्तिम चरणमा पुगेको सदस्यसचिवले दाबी गरे ।


प्राप्त जानकारीअनुसार खर्च विवरण सार्वजनिक गर्नमा ढिलाइ हुनुमा स्वयम् सदस्यसचिव नै कारक रहेको बुझिएको छ । १३औँ सागमा ‘वान म्यान शो’ गरेका सिलवालले सागको सम्पूर्ण खर्च फास्ट ट्रयाकबाट गरेका थिए । समयको अभाव देखाउँदै उनले कार्यविधिलाई लत्याएका थिए । साग समापनपश्चात् कार्यविधि अनुसार खर्च विवरण पेश गर्न सदस्यसचिवले निर्देशन दिएपछि समस्या उत्पन्न भएको थियो । यसरी सम्बन्धित निकायले राखेपले दुई पटक निकालेको सूचनालाई समेत अटेर गरेका थिए । जसले गर्दा तोकिएको समयमा खर्च विवरण सार्वजनिक हुन सकेन । पछि सदस्यसचिव सिलवालले कोभिडको बेलामा समेत आधा रातसम्म परिषद्मा बसेर बिल भौचर मिलाएको परिषद स्रोतले बताएको छ । प्राप्त जानकारीअनुसार सागको खर्च विवरण मिलाउने क्रममा अहिलेसम्म विल पछ्र्याैट नभएको र पेश्की रहनेगरी मिलान गरिएको बुझिएको छ । यसरी बिल पछ्र्यौट नै नभएको हिसाबकिताब कसरी सार्वजनिक गर्न मिल्छ त्यो अहिले खेलकुदमा चर्चाको विषय बनेको छ ।

सिलवालले १३औँ सागको खर्च विवरण पेश गर्ने क्रममा खेलकुदका कार्यक्रमतर्फ १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार, निर्माणतर्फ विगतका वर्षदेखि २ अर्ब ८६ करोड १४ लाख २८ हजार खर्च भएको बताए । त्यस्तै पदकविजेता खेलाडी, प्रशिक्षक र सहभागी राष्ट्रिय सङ्घलाई नेपाल सरकारको तर्फबाट २२ करोड ७६ लाख पुरस्कार रकम खर्च भएको जनाएको छ । साथै नेपाल सरकारबाट स्वीकृत बजेटभन्दा कम रकममा १३औँ साग सम्पन्न गरेको दाबी गरिएको छ ।


राखेपका उपाध्यक्ष ज्वाला अनुपस्थित


राष्ट्रिय खेलकुद परिषदले मंसिर १४ गते आयोजना गरेको खर्च विवरण सार्वजनिक कार्यक्रममा राखेपका उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’ उपस्थित भएनन् । राखेप बोर्डकै अभिभावको रूपमा रहेका उपाध्यक्ष ज्वालाको अनुपस्थितिलाई अहिले खेलकुदमा अर्थपूर्ण रुपमा हेरिएको छ । के कारणले ज्वाला अनुपस्थित भएका हुन् अहिले विभिन्न अड्कल काटिन थालेको छ । प्रायजसो राखेपका पदाधिकारी उपस्थित भएको उक्त महत्वपूर्ण सार्वजनिक कार्यक्रममा उपाध्यक्ष उपस्थित नहुनुलाई अहिले विभिन्न कोणवाट विश्लेषण गरिन थालेको छ ।


प्राप्त जानकारीकानुसार उपाध्यक्ष ज्वाला हचुवाको भरमा १३औँ सागको खर्च विवरण सार्वजनिक गर्ने पक्षमा नरहेको बुझिएको छ । थुप्रै सङ्घ, संस्था र समितिको हिसाबकिताब अहिले पनि मिलान गर्न बाँकी रहेकोले उनी उक्त कार्यक्रम नआएको स्रोतको दाबी छ । यो बारेमा उपाध्यक्ष ज्वालासँग सम्पर्क गर्दा उनले मेरो अनुपस्थिति नै यसको उत्तर हो भनेका थिए ।