‘एसियाड’ आयोजनाको लागि कतारले नेपालसँग माग्यो सहयोग

‘एसियाड’ आयोजनाको लागि कतारले नेपालसँग माग्यो सहयोग



कतार ओलम्पिक कमिटीको प्रतिनिधि मण्डलले नेपाल ओलम्पिक कमिटीसँग सन् २०३० को एसियाली खेलकुद आयोजनाको दाबेदारीका लागि औपचारिक रूपमा सहयोग र समर्थनका लागि अनुरोध गरेको छ ।

नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थित कार्यालय भ्रमण गर्ने क्रममा त्यस टोलीले नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा रहेको नेपाली पक्षसँग दुई पक्षीय सहयोग र सम्बन्धलाई लिएर छलफल पनि गरेको छ । नेपाली टोलीमा उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य र महासचिव निलेन्द्रराज श्रेष्ठ पनि सम्मिलित हुनु हुन्थ्यो ।

दोहा २०३० एसियाली खेलकुद दावेदारीको लागि नेपाल आएको १२ सदस्यीय टोलीको नेतृत्व कतार ओलम्पिक कमिटीका महासचिव रसिद जे ए अल्बुनइनले गरेका थिए । उक्त टोलीमा नेपालका लागि कतारका राजदुतको उपस्थिति रहेको थियो ।

टोलीले सन् २०३० को एसियाली खेलकुद आयोजनाका लागि कतारले प्रस्तुत गरेको दावेदारीको विशेष कार्यक्रम पनि प्रस्तुत गरेको थियो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले कतारी टोलीलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्दै सन् २०३० को एसियाली खेलकुद आयोजनाको कतारी दावेदारीको सफलताको कामना पनि गर्नुभयो ।

सो अवसरमा उहाँले कतारले यसअघि पनि सन् २००६ मा एसियाली खेलकुदको सफलतापूर्वक आयोजना गरिसकेको छ । खेलकुद विकासमा कतार र नेपाल अपसी सहयोगका लागि वचनबद्ध रहेका छन् अध्यक्ष श्रेष्ठले भने । नेपाल र कतारको दुई पक्षीय सम्बन्ध पनि सुमधुर रहेको छ र यसले हामीबीचको खेल सम्बन्ध बलियो बनाउन मदत मिलेको छ श्रेष्ठले जानकारी गराए ।

कार्यक्रममा कतारी टोलीका प्रमुख अल्बुनइनले नेपाल आउन पाउँदा खुसी लागेको बताउनु हुँदै आफ्नो देशको दावेदारीमा नेपालको सहयोग र समर्थनका लागि अनुरोध गर्नुभयो । कतारी टोलीमा एसियाली एथलेटिक्स संघका अध्यक्ष डहलान जमन अल हमद र एसियाली भारोत्तोलन संघका अध्यक्ष मोहम्मद युसेफ अल मन पनि हुनुहुन्थ्यो ।