कोरोना महामारीका कारण टोक्यो ओलम्पिकमा थप २ अर्ब ४० करोड खर्च हुने

कोरोना महामारीका कारण टोक्यो ओलम्पिकमा थप २ अर्ब ४० करोड खर्च हुने



कोरोनाभाइरस महामारीका कारण स्थगित भएको टोक्यो ओलम्पिक खेलको आयोजनाका लागि थप २ करोड ४० लाख अमेरिकी डलर खर्च लाग्ने आयोजक समितिले शुक्रबार जनाएको छ ।

आयोजक समिति टोक्यो २०२० ले खेलमा भएको ढिलाइका कारण संचालन खर्चमा थप १ अर्ब ५० करोड डलर लाग्ने तथा कोरोना भाइरसबाट खेलमा सहभागीलाई जोगाउन थप ९० करोड डलर खर्च हुने बताएको छ । यसै वर्ष २०२० मा हुनुपर्ने टोक्यो ओलम्पिक आगामी वर्ष सन् २०२१ मा हुँदैछ ।

डलर र जापानी येनको परिवर्त्य दरमा हुने फेरबदलले पनि लागत खर्च अरु बढाउने आयोजकको भनाइ छ ।

टोक्यो ओलम्पिक खेलमा लागत बढ्दै गएपछि जापानी नागरिकबीच मत विभाजन भएको छ । केहीले महामारीको अवस्थामा खेल आयोजना पूरै रोक्ने वा खेल नै रद्द गर्नेतर्फ जापान सरकारले ध्यान दिनुपर्ने बताउँदै आएका छन् ।

यद्यपी थप लागतको व्ययभार जापान सरकार, टोक्यो शहर र आयोजकले व्यहोर्ने सहमति भएको बताइएको छ ।