
फुटबलका सर्वकालीन महान् खेलाडी डियगो म्याराडोना आफ्नो मातृभूमिको माटोलाई चुमेर फुटबल मैदानमा उत्रिएका थिए । ८० को दशकमा म्याराडोनाले फुटबलमा गरेको चमत्कार अहिलेसम्म आम फुटबलप्रेमीको मानसपटलमा ताजै छ । म्याराडोनाको जादुमय देब्रे खुट्टा सर्वाधिक आकर्षणको केन्द्रबिन्दु थियो । उनले त्यही देब्रे खुट्टाको कौशल प्रदर्शन गरी अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकप फुटबलको उपाधि उचाल्ने सफलता दिलाएका थिए । आफूसँगै विश्व फुटबललाई लोकप्रियताको शिखरमा पुऱ्याएका म्याराडोना आधुनिक फुटबलका उज्ज्वल नक्षत्र भएको विश्व फुटबल महासङ्घ फिफाले सन् २००० मा ‘शताब्दीकै उत्कृष्ट खेलाडी’को रूपमा पुरस्कृत गरेबाट नै प्रमाणित हुन्छ ।
२००२ मा ३८ वर्षको उमेरमा म्याराडोनाले सक्रिय खेल जीवनबाट सन्यास लिए । सन्यासको घोषणा गर्दा अर्जेन्टिनाको एक मुठी माटो समातेर दर्शकतर्फ उडाउँदै म्याराडोनाले बगाएको आँशुले विश्वभरका उनका फ्यानलाई रुवाएको थियो । म्याराडोनाले सन्यासको घोषणा गरेपछि उनको सम्मानमा अर्जेन्टिनाको फुटबल सङ्घले १० नम्बरको जर्सी आफ्ना कुनै पनि खेलाडीलाई प्रयोग गर्न नदिने निर्णय गरेको थियो । तिनै सर्वकालीन महान् फुटबल खेलाडी म्याराडोनाको गत साता ६० वर्षको उमेरमा हृदयघातबाट निधन भएको छ ।
अघिल्लो महिना म्याराडोनाको मस्तिष्कमा जमेको रगत शल्यक्रियाद्वारा हटाइएको थियो । हृदयघात हुनुअघि उनी आफ्नो घरमा आराम गरिरहेका थिए । म्याराडोनाको निधनपश्चात फुटबलका महान हस्ती पेलेलगायत लाखौँ समर्थकले दुःख प्रकट गर्दै श्रद्धासुमन प्रकट गरेका छन् । अर्जेन्टिनी सरकारले त म्याराडोनाको सम्मानमा तीन दिनको शोक नै मनायो ।
दुर्व्यसन म्याराडोनाको सबैभन्दा कमजोर पक्ष थियो । फुटबलमा सक्रिय रहँदादेखि नै म्याराडोना दुर्व्यसनमा फसेका थिए । डिसेम्बर १९९९मा कोकिनको अत्यधिक मात्रा सेवन गरेपछि म्याराडोना जीवन र मृत्युको दोसाँधमा पुगेका थिए । त्यसपछि उनको उपचार उरुग्वे र क्युवामा भएको थियो । मृत्युलाई जितेर फर्किएपछि म्याराडोना अत्यधिक मोटाएका कारण उनको शरीरबाट शल्यक्रियाद्वारा ४० केजी बोसो निकालिएको थियो । त्यसपछि स्वस्थ देखिएका म्याराडोनाले लागुपदार्थको सेवनलाई नियमित राख्दा पटक-पटक उनलाई अस्पताल भर्ना गर्नु परेको थियो । थुप्रै पटक रोगलाई जित्दै आएका म्याराडोना यतिबेला भने हारेका छन् । अनुमान नै नगरिएको बेला उनी सदाको लागि यस धर्तीबाट अस्ताएका छन् ।

म्याराडोनाको निधनसँगै अन्तिम संस्कारसमेत भइसकेको छ, तर म्याराडोनाको परिवारले उनको निधन हुनुमा उपचारका क्रममा डाक्टरले लापर्वाही गरेको आरोप लगाएर सनसनी पैदा गरेको छ । म्याराडोनाकी छोरीले डाक्टरले सही औषधि नदिएको र उपचारमा लापर्वाही गरेका कारण आफ्ना बाबुको ज्यान गएको भन्दै गम्भीर आरोप लगाएकी छिन् । यसलगत्तै म्याराडोनाका चिकित्सक लियोपोल्डोको क्लीनिक र घरमा प्रहरीले छापा मारेको छ । उपचारको क्रममा कुनै किसिमको लापरवाही भएको थियो कि भनेर प्रहरीले जाँच गरिरहेको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् ।
३० अक्टुवर १९६० मा अर्जेन्टिनाको ब्यनर्स आयर्सको बाहिर छेउमा रहेको फियोरिन्टाना भन्ने ठाउँको लानुस पोली क्लिनिकमा म्याराडोनाको जन्म भएको थियो । गरिव परिवारमा जन्मेका डियगो आरम्यान्डो म्याराडोनालाई आफ्नो तेस्रो जन्मदिनको दिन उनका काका वेतो जरारातेले फुटबल उपहार दिएका थिए । म्याराडोना त्यो फुटबललाई यति माया गर्थे कि एकछिन पनि आफुबाट अलग राख्दैनथे । सुत्दाखेर पनि काखैमा च्यापेर सुत्थे । जब नौ वर्षका भए, म्यारोडोनाको परिचय कोरनेजासँग भयो । उनको प्रतिभा देखेर कोरनेजाले सञ्चारकर्मीहरूलाई भनेका थिए– ‘म फुटबलको भविष्यको विलक्षण प्रतिभाको अगाडि उभिएको छु ।’ कोरनेजाले यस्तो अभिव्यक्ति बालक म्याराडोनाले दुई/तीन पटक मात्र खुट्टा चलाएको देखेका आधारमा भनेका थिए । बालक म्यारोडोना जब १० वर्ष पुगे तब उनले अर्जेन्टिनोड जुनियर्स क्लबको जुनियर फुटबल टीम निवोलिटासको लागि खेल्न थाले ।
कुरा त्यही वर्षको हो, बोका जुनियर्स र अर्जेन्टिनोड खेल भैरहेको मध्यान्तर समयमा बालक म्याराडोनाले जब मैदानमा बल खेलाउन थाले सबै उनको प्रतिभा देखेर आश्चर्यचकित भए । कहिले खुट्टामा, कहिले ढाडमा, कहिले टाउकोमा र कहिले तिघ्रामा राखेर बललाई भुइँमा खस्न नै नदिएर उत्कृष्ट प्रदर्शन गरेका थिए उनले । रंगशालामा उपस्थित हजारौँ दर्शक उनको यो प्रतिभा देखेर मन्त्रमुग्ध भए । पछि उनको क्लब अर्जेन्टिनोड जब खेल खेल्न मैदानमा प्रवेश गर्थ्यो मध्यान्तरको समयमा म्याराडोनाको प्रदर्शन पनि परम्पराको रूपमा कायम रहन्थ्यो ।
जुन २०, १९७६ मा अर्जेन्टिनोड र ट्यालर्स क्लबबीच खेल हुँदा म्यारोडोना टीममा परे पनि पूरै समय बेन्चमा बस्न बाध्य भएका थिए । पछि अक्टुबर २०, १९७६ मा भएको यी दुई क्लवबीचको भिडन्तमा म्याराडोना १५ नम्बरको जर्सी लगाएर मैदानमा उत्रिएका थिए । हुँआ अगस्टिन वाई बोथासको ऐतिहासिक रङ्शालामा उत्रिँदा म्यारोडोना मात्र १५ वर्षका थिए । यो खेलमा उनको क्लब एक सुन्यले पराजित भए पनि म्याराडोनाको खेलले सबैलाई प्रभावित पारेको थियो । म्यारोडोना १६ वर्षमा प्रवेश गरेको १५ दिनपछि अर्थात् १४ नोभेम्बर १९७६ मा उनले लुकानगिभालीविरुद्ध पहिलो गोल गरे । तत्कालिन समयमा विपक्षी टीमका गोलकीपर चर्चित खेलाडी सान लोरेन्जो डी मारडेल थिए ।
चार वर्षसम्म अर्जेन्टिनोड जुनियर्सबाट खेल्ने म्याराडोना सन् १९८१ मा १० लाख पाउन्डमा बोका जुनियर्समा अनुबन्धित भए । उनले बोका जुनियर्सबाट खेलेको पहिलो खेलमै कोरदोवाविरुद्ध दुई गोल गर्न सफल भए । त्यही बालक म्याराडोना १६ अगस्ट १९८१ मा अर्जेन्टिनी लीग च्याम्पियन बोका जुनियर्सको डरलाग्दो खेलाडीका रूपमा परिचित भैसकेका थिए ।

सन् १९७५ मा स्कटल्याण्डविरुद्धको खेलमा म्याराडोनाले आफ्नो जीवनको ऐतिहासिक गोल गरेका थिए, जुन निकै दर्शनिय थियो । १९७७ मा अर्जेन्टिनाको राष्ट्रिय टीममा परे पनि १९७८ को विश्वकपको टीममा म्यारोडोना परेनन् । १९७८ मा उरुग्वेमा भएको युवा कप फुटबल प्रतियोगिताको फाइनलमा यात्रा तय गरे पनि अर्जेन्टिना उरुग्वेसँग पराजित भयो । १९७९ मा अर्जेन्टिनाको फुटबल टीम युरोप भ्रमणमा गर्दा म्याराडोनालाई पनि टीममा समावेस गरिएको थियो, उक्त भ्रमणमा म्याराडोनाले पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए । त्यसपछि उनलाई दोश्रो फिफा विश्व युवा कप फुटबल प्रतियोगितामा अर्जेन्टिनी टीमको कप्तान बनाइएको थियो । उक्त प्रतियोगितामा म्यारोडोनाले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा सोभियत सङ्घलाई तीन सून्यले पराजित गरी उपाधि जितेका थिए । यो प्रतियोगितामा म्याराडोना सर्वश्रेष्ठ खेलाडी घोषित भएका थिए ।
२१ वर्षको उमेरमा म्याराडोना स्पेनिस क्लब बार्सिलोनासँग महँगो खेलाडीको कीर्तिमानी राख्दै अनुबन्धित भए । जब बार्सिलोनाबाट १० खेल खेलेर उनले ६ गोल गरे त्यसपछि म्याराडोनालाई आधुनिक फुटबलको नायकको रूपमा चर्चा गरिन थालियो । २५ महिनामा ३६ वटा खेल खेली बार्सिलोनालाई मिङ्स कपको उपाधि दिलाउने म्याराडोना अन्ततः ३० जुन १९८४ मा बार्सिलोना छाडी इटालियन क्लब नेपोलीमा अनुबन्धित भए । स्पेनिस क्लबहरूबाट खेल्दा बारम्बार फल खेलेको आरोपको सिकार हुनु परेपछि उनी बार्सिलोना छोड्न बाध्य भएका थिए ।
नेपोली क्लबमा अनुबन्धित भएपछि म्याराडोना र नेपोलीको भाग्यमा एकाएक परिवर्तन भयो । ६९ लाख पाउण्डमा अनुबन्धित म्याराडोनाले नेपोलीको कायापटल नै गरिदिए । रेलिगेसनबाट जोगिन सङ्घर्षरत नेपाली म्यारोडोनाको प्रवेशपछि आठौँ स्थानमा उक्लियो । १९८५ र ८६ मा नेपालीले अझ प्रगति गर्दै तेस्रो स्थानमा उक्लियो । १९८६–८७ मा म्याराडोनाले नेपोलीको लागि दोहोरो सफलता दिलाए । चर्चित सुडेतो र कोपा इटालिया च्याम्पियनसिप दुवै नेपोलीले जित्यो । नेपोलीले म्याराडोनाको लोकप्रियता बढाउन र आफू आर्थिक रूपमा सवल हुन म्याराडोनालाई निकै उपयोग ग¥यो । म्याराडोनाको चित्रअङ्कित टीसर्ट, टोपी, पोस्टर, किताब, कपी उपहार आदि अनेक वस्तु निर्माण गरी लाखौँको संख्यामा बेचेर रकम जम्मा गऱ्यो ।
म्याराडोनाको खेल हेर्न भनेपछि टिकट पनि अत्याधिक बिक्री हुने हुँदा म्यारोडोनाले नेपोलीको लागि सयौँ मैत्रीपूर्ण खेल पनि खेले । यसरी नेपालीले क्लबमा लागेको ऋण मात्र चाँडो तिरेन, प्रशस्तै धन आर्जन गर्नसमेत सफल भयो । म्यारोडोना आएको गरिव आठ वर्षमा नेपोली इटालीको मात्र नभै विश्वकै सर्वश्रेष्ठ क्लब बन्न पुग्यो । १९९१ नेपोली र वारी क्लबबीच भएको खेलपछि म्याराडोनाको मुत्र प्ररीक्षण गर्दा उनले प्रतिबन्धित लागुऔषध सेवन गरेको तथ्य फेला परेको थियो । त्यसपछि उनमाथि १५ महिना प्रतिबन्ध लागेको थियो । यो घटनापश्चात म्याराडोना र नेपोलीको सम्बन्ध पनि समाप्त भयो । त्यसपछि म्याराडोनाविनाको नेपोली कहिल्यै माथि उठ्न सकेन । अहिले पनि नेपोली भन्नेवित्तिकै मानिसहरू म्याराडोनालाई सम्झन्छन् ।
सन् १९८२ को विश्वकपमा ब्राजिलियन खेलाडी बाटिस्टुटालाई फल प्रहार गरेवापत रेड कार्ड पाएका म्याराडोनाको वास्तविक क्षमता १९८६ को विश्वकपमा देखिएको थियो । इङ्गल्याण्डसँगको क्वाटर फाइनल खेलमा म्याराडोनाले जुन असाधारण प्रदर्शन गरे त्यसले उनलाई रातारात विश्व फुटबलको ‘हिरो’ बनाइ दियो । सन् १९८६ जुन २२ तारिख मेक्सिको सिटीमा अवस्थित एजट्क रङ्गशालामा इङ्गल्याण्ड र अर्जेन्टिनाबीच खेल भैरहेको थियो । यो खेल फुटबलको मैदानमा भए पनि फकल्याण्ड युद्धभन्दा कम थिएन । अर्जेन्टिनालाई फकल्याण्ड युद्धमा भएको पराजयको बदला लिने उपयुक्त अवसर पनि थियो । निकै सनसनीपूर्ण र रोमान्चकारी खेलमा मध्यान्तरसम्म दुवै टीमहरू गोल गर्न असफल भए । खेलको ५१औँ मिनेटमा मध्यभागबाट बल इङ्गल्याण्डको पेनाल्टी बक्समा आउँदै गर्दा त्यो बललाई समाउन गोलरक्षक पिटर सिल्टन र म्यारोडोना एकै पटक उफ्रिए । बल एकै निमेषमा इङ्ग्ल्याण्डको गोल पोस्टमा छिरिसकेको थियो ।

इङ्ग्ल्याण्डका खेलाडीहरूले त्यो गोल हातले भएको भन्दै विरोध गरे पनि रेफ्रीले त्यसको गोलको मान्यता दिए । वास्तवमा त्यो गोल म्याराडोनाको हातमा लागेर भएको थियो । उक्त गोललाई ‘ह्याण्ड अफ गड’ भनेर अहिलेसम्म विश्व फुटबलको इतिहासमा अंकित गरिएको छ । पछि मैदानको मध्य भागबाट एक्लै बल लगि गोल गरेका म्याराडोनाको उक्त दोश्रो गोल निर्णायक सावित भयो । अन्ततः अर्जेन्टिना २–१ ले विजय भयो । बेल्जियमविरुद्धको सेमिफाइनल खेलमा म्याराडोनाले पुनः दुई गोल गर्दै अर्जेन्टिनालाई फाइनलमा पुऱ्याए । जर्मनीसँग भएको फाइनल भिडन्तमा म्याराडोनाकै उत्कृष्ट पासमा साउना माल्डोना र बुरुचाकाले गोल गरेका थिए । फाइनल खेल अर्जेन्टिनाले २–१ को अन्तरले जितेको थियो । अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेपछि म्याराडोना उक्त विश्वकपको उत्कृष्ट खेलाडीवाट सम्मानित समेत भएका थिए । पछि उक्त विश्वकप म्याराडोनाको विश्वकपको रूपमा समेत चिनिएको थियो ।
म्याराडोनाको एकल प्रयासमै सन् १९९० को विश्वकपमा पनि अर्जेन्टिना फाइनलमा पुग्यो । दुर्भाग्यवश जर्मनीसँग पराजित हुँदै अर्जेन्टिना उपविजेतामै सीमित भयो । १९९४ को विश्वकपमा भने इफेड्राइन नामक लागुऔषध सेवन गरेको प्रमाणित भएपछि म्यारोडोना निलम्बनमा परे । यहीँबाट उनको विश्वकप फुटबलमा पूर्णबिराम लाग्यो । प्रशिक्षकको भूमिकामा भने म्याराडोना देखिइरहे ।
म्याराडोनाले अर्जेन्टिनाको राष्ट्रिय फुटबल टीमको प्रशिक्षकसहित थुप्रै ब्यावसायिक फुटबल क्लबहरूमा प्रशिक्षको भूमिका निभाए । खेलाडीको रूपमा म्याराडोना जति सफल थिए प्रशिक्षकको रूपमा भने त्यस्तो कुनै चमत्कार देखाउन सकेनन् ।
प्रतिक्रिया