वरिष्ठ प्रशिक्षक कार्कीको बिदाई

वरिष्ठ प्रशिक्षक कार्कीको बिदाई



पौडीका नायव वरिष्ठ प्रशिक्षक ईश्वर कार्कीलाई बिदाई गरिएको छ । कार्कीलाई पौडी प्रशिक्षक परिवारका तर्फबाट विदाइ तथा सम्मान गरिएको हो । कार्कीले लामो समयसम्म परिषदमा कार्यरत रही हालै उमेरहदका कारण सेवा निवृत्त भएका थिए ।

परिषद् तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन बिकले एक कार्यक्रमका बीच कार्कीलाई प्रशंसापत्र प्रदान गर्दै बिदाई तथा सम्मान गरेका हुन् । सो अवसरमा पौडीपोखरीका प्रमुख एवं कार्यक्रमका सभापति टार्जन सुब्बा र राष्ट्रिय टिम तयारीका प्रमुख महेन्द्र राईको उपस्थिति थियो ।

सो कार्यक्रमा अर्जुन बिकले कार्कीले पौडी खेलको विकासमा गरेको योगदानको चर्चा गरेका थिए । साथै उमेरहदका कारण अनिवार्य अवकास भएता पनि कार्कीले खेल क्षेत्रलाई अझ सहयोग प्रदान गरी रहने वताए ।

नायव वरिष्ठ पौडी प्रशिक्षक कार्की उमेरहदका कारण हालै सेवानिवृत्त भएका हुन् । कार्कीलाई नायव वरिष्ठ पौडी प्रशिक्षक एवं पूर्वप्रमुख प्रशिक्षक वाङ्गदेन लामाले दोसल्ला ओढाएर सम्मान गरेका थिए । यस्तै प्रमुख प्रशिक्षक शंकर कार्की, प्रशिक्षकद्वय रत्न महर्जन र नयना शाक्यले मायाको चिनो र बासुदेव निरौलाले माला लगाई बिदाई तथा सम्मान गरेका थिए ।
कार्यक्रमममा तालिम तथा प्रशिक्षण विभाग, खेलकुद विज्ञान प्रतिष्ठान, निर्देशक, उपनिर्देशक, विभिन्न खेलका प्रमुख प्रशिक्षक, प्रशिक्षक र कर्मचारीहरुले कार्कीलाई अविर तथा खादा लगाई सम्मान गरेका थिए ।

भारतको नेताजी सुभाषचन्द्र बोस स्पोर्टसस् इन्स्टिच्युटबाट १९९० मा स्पोर्टस्मा डिप्लोमा गरेका कार्की २०५० सालमा पौडी प्रशिक्षकको रुपमा राष्ट्रिय खेलकुद परिषद्मा प्रवेश गरेका थिए । २०६३ मा नायव बरिष्ठ पौडी प्रशिक्षकमा बढुवा भएका कार्की २०५७ देखि २०७१ सम्म पौडीका प्रमुख प्रशिक्षक रहेका थिए ।

२०३८ सालमा भएको प्रथम राष्ट्रिय खेलकुदमा पौडी खेलाडीको रुपमा खेल क्षेत्रमा प्रवेश गरेका कार्की १९८२ मा दिल्लीमा आयोजना भएको नवौं एशियाली खेलकुदमा खेलाडीका रुपमा सहभागी भएका थिए । यस्तै काठमाण्डौमा १९८४ मा आयोजना भएको प्रथम दक्षिण एशियाली खेलकुदमा ४ गुणा १०० मिटर मिड्ले रिलेमा कास्य पदक प्राप्त गर्न सफल भएका थिए ।

८ औं र १३ औं दक्षिण एशियाली खेलकुदमा पौडीबाट नेपालका लागि स्वर्ण पदक दिलाउन कार्कीको ठूलो भूमिका रहेको छ । यस्तै नेपालमा उत्कृष्ट पौडी खेलाडी उत्पान गर्न कार्कीको निकै ठुलो योगदान रहेको छ । पौडी प्रशिक्षकका रुपमा विभिन्न देशको भ्रमण गरेका कार्कीले एशिया प्यासेफिक पौडी प्रतियोगितामा प्रशिक्षण प्रदान गरि नेपाललाई पदक दिलाउन सफल भएका थिए ।

कार्कीले रियो ओलम्पिक–२०१६ मा प्रशिक्षकका रुपमा सहभागिता जनाउनुका साथै विभिन्न विश्व पौडी प्रतियोगितामा प्रशिक्षकका रुपमा सहभागिता जनाएका थिए ।