केशव विष्ट सफल सदस्यसचिव भएको प्रमाणित

केशव विष्ट सफल सदस्यसचिव भएको प्रमाणित



चारवर्षे कार्यकालमा दुई राष्ट्रिय खेलकुद

राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्यसचिव केशवकुमार विष्ट सफल सदस्यसचिव भएको यतिबेला प्रमाणित भएको छ । सदस्यसचिव विष्टले आफ्नो चारवर्षे कार्यकालमा निरन्तर रूपमा दुईवटा राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरेर आफूलाई सफल सदस्यसचिव भएको प्रमाणित गरेका हुन् । योभन्दा अघि कुनै पनि राखेपका सदस्यसचिवले यस्तो उपलब्धि हासिल गर्न सकेका थिएनन् ।

राखेपका पूर्व सदस्यसचिव शरदचन्द्र शाहले आफ्नो एक दशकको कार्यकालमा तीनवटा राष्ट्रिय प्रतियोगिता काठमाडौं, वीरगञ्ज र पोखरामा आयोजना भएका थिए । तर, सदस्यसचिव विष्टलले आफ्नो चारवर्षे कार्यकालमै निरन्तर दुई वटा राष्ट्रिय खेलकुदको आयोजना गरेर आफ्नो कार्यकाललाई खेलकुदको स्वर्णकाल बनाए ।

राष्ट्रिय प्रतियोगिताको आयोजनाका लागि भौतिक पूर्वाधारले गाँजेको चुनौतीपूर्ण अवस्थामा पनि सदस्यसचिव विष्टले सातौँ राष्ट्रिय विराटनगर र आठौँ राष्ट्रिय नेपालगञ्जमा सफलतापूर्वक आयोजना गरेका थिए । स्मरणरहोस्, नेपाली खेलकुदको इतिहासमा चारवर्षे कार्यकालमा दुई वटा राष्ट्रिय प्रतियोगिताको आयोजना गरेर कीर्तिमान बनाउने विष्ट राखेपको पहिलो सदस्यसचिव हुन् । विष्टको आत्मविश्वासी कदमकै परिणामको रूपमा सातौँ र आठौँ राष्ट्रिय खेलकुद आयोजना भएका थिए ।

सीमित समय, बजेटको अभाव, भौतिक पूर्वाधारको अभाव र सरकारी निकायको असहयोगका बाबजुद विष्टले राष्ट्रिय प्रतियोगिताको आयोजनालाई निरन्तरता दिन सफल भएका थिए । राष्ट्रिय प्रतियोगितालाई खेलकुदको ‘मेरुडण्ड’ मान्ने सदस्यसचिव विष्टले प्रतिभाबीच प्रतिभाको प्रतिस्पर्धा गर्न र नौलो ‘हिरो’ जन्माउन राष्ट्रिय खेलकुद आयोजना एक मात्र विकल्प ठानेका थिए । तसर्थ तत्कालिन विषम परिस्थितिमा पनि विष्टले दुई वटा राष्ट्रिय प्रतियोगिताको आयोजना गर्दै लिकबाहिर गएको खेलकुदलाई सही मार्गमा डोर्‍याउन सफल भएका थिए । उनको यो साहसिक कार्यले खेलकुदमा नौलो रक्तसञ्चार भएको थियो । खेलकुदको समग्र विकासमा नयाँ आशाका किरण देखिएका थिए ।

सदस्यसचिव विष्टले निरन्तर रूपमा दुई वटा राष्ट्रिय खेलकुदको आयोजना गरेपछि यसले प्रत्येक वर्ष निरन्तरता पाउने विश्वास गरिएको थियो । तर दुर्भाग्य ! हालै खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटी सम्मिलित अन्तरक्रिया कार्यक्रममा आउँदो फागुन २० गतेदेखि आयोजना हुने भनिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनामा पूर्णबिराम लगाइएको छ । सम्बन्धित निकायले कोरोना माहामारी र खेलाडीको सुरक्षाको बहाना बनाउँदै नवौँ नहुने सङ्केत गरेका छन् ।

विभिन्न कारणले लामो समयदेखि हुन नसकेको राष्ट्रिय खेलकुदलाई निरन्तरता दिने कार्य राखेपका पूर्वसदस्यसचिव युवराज लामाले गरेका थिए । लामाले छैँठौँ राष्ट्रियको आयोजना सुदूरपश्चिमको कैकाली र कञ्चनपुरमा गरेर प्राय मृत अवस्थामा रहेको राष्ट्रिय खेलकुदलाई ब्यँताएका थिए । तत्कालिन समयमा पनि भौतिक पूर्वाधारले राष्ट्रिय खेलकुदलाई चुनौती दिए पनि लामाले छैठौँ आयोजना गर्ने सफलता पाएका थिए ।