धादिङमा प्रथम मेयर कप व्याडमिन्टन प्रतियोगिता सुरु

धादिङमा प्रथम मेयर कप व्याडमिन्टन प्रतियोगिता सुरु



विकास रौनियार, धादिङ

धादिङमा जिल्लास्तरिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता प्रथम मेयर कप २०७७ बिहीबारबाट सुरु भएको छ । स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गरी राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको धादिङ जिल्ला व्याडमिन्टन संघका अध्यक्ष विष्णुलाल श्रेष्ठले बताउनुभयो ।

जिल्लाको सदरमुकाम धादिङबेशीमा रहेको कवडहलमा महिला र पुरुषतर्फ छुट्टाछुट्टै प्रतियोगिता भैरहेको छ । प्रतियोगितामा १४ जना महिला र १ सय ५१ जा पुरुष गरी १ सय ६५ जनाको सहभागिता रहेको श्रेष्ठले बताउनुभयो । कार्यक्रमको औपचारिक उद्घाटन गर्दै नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताउनुभयो ।

केहि वर्षअघिसम्म फुटवल, भलिबल, क्रिकेट लगायतका खेलहरुको मात्र जिल्लामा प्रतिस्पर्धा हुने गरेको थियो । व्याडमिन्टनमा पनि राष्ट्रिय तहमा खेलाडी उत्पादन गर्न खेलाडीको हौसलाका लागि मेयर कपको थालनी गरिएको र खेलाडीहरुको चाहना अनुसार सबै प्रकारका खेलाडीहरुका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता समेत प्रमुख ढुङ्गानाले व्यक्त गर्नुभयो ।