सागाको ब्रान्ड एम्बासडर बने कराते खेलाडी सुमन

सागाको ब्रान्ड एम्बासडर बने कराते खेलाडी सुमन



गोंगबु नयाँ बसपार्कस्थित सागा एडभेन्चर टुर्स एन्ड ट्राभल प्रा.लि.ले कराते खेलाडी सुमन तिमल्सिनालाई ब्रान्ड एम्बास्डरमा नियुक्त गरेको छ । सागाका प्रबन्ध निर्देशक स्वच्छम गुरुङले सुमनलाई सो सम्बन्धि नियुक्तिपत्र एक कार्यक्रमबीच हस्तान्तरण गरे ।

त्यस वापत सागाले सुमनलाई विदेशमा हुने कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिता लगायतका खेलकुद कार्यक्रममा सहभागी हुन निशुल्क हवाई टिकट उपलब्ध गराउने भएको छ । दुवैबीच एक वर्षका लागि सम्झौता भएको प्रबन्ध निर्देशक गुरुङले जानकारी दिए ।

प्रबन्ध निर्देशक गुरुङले पहिलो पटक खेलकुदसंग जोडिन पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा पनि खेल क्षेत्रसंग सहकार्य गरेर अगाडि बढ्ने चाहना रहेको बताए ।

‘नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै सफलता पाएका छन् । थुप्रै खेलाडीले आर्थिक अभावका कारण अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाएको हामीले सुनेका छौँ । हाम्रो यो कदमले थारै भएपनि खेलाडीलाई राहत मिल्ने छ भन्ने विश्वास छ । त्यसैले हामीले उहाँ (सुमन) बाट सुरुआत गरेका हौं ।’

प्रबन्ध निर्देशक गुरुङले भने– ‘आगामी दिनमा अन्य खेलाडीलाई आफ्नो संस्थाको तर्फबाट सक्दो सहयोग गर्ने छौं । देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने प्रमुख माध्यम खेल क्षेत्रसँग जोडिन पाउँदा असाध्यै खुशी लागेको छ ।’ उनले अन्य खेलाडीलाई पनि अन्तर्राष्ट्रिय हवाइ टिकटमा विशेष छुट दिने प्रतिबद्धता व्यक्त गरे ।

सुमनले ब्रान्ड एम्बास्डरमा नियुक्त गरेकोमा सागालाई धन्यवाद दिदै सागाको प्रवद्र्धनमा आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।‘ए’ श्रेणीको अन्तर्राष्ट्रिय जज समेत रहेका सुमनले खेलाडीका रुपमा विभिन्न देशमा १८ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।

कत्यसमा उनले बंगालादेश र श्रीलंकामा भएको प्रतियोगितामा स्वर्ण तथा मलेसियामा भएको प्रतियोगितामा कांस्य जितेका छन् । उनले १३ अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । उनले क्यानाडामा भएको चौथो विश्व मार्सल आर्ट्स सम्मेलनमा पनि सहभागिता जनाएका थिए ।