कोेरोना बन्यो सरकारी बहाना, नवौँ राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने छैन चाहना

कोेरोना बन्यो सरकारी बहाना, नवौँ राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने छैन चाहना


  • श्रीविक्रम भण्डारी

कोरोनालाई बहाना बनाउँदै युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नहुने सङ्केत गर्दै नवौँ राष्ट्रियको नयाँ मिति परिषद्को बोर्डले तोक्ने बताएका छन् । नवौँ राष्ट्रिय आगामी फागुनको तेस्रो सातादेखि आयोजना गरिने पहिल्यै तय गरिए पनि आयोजनाको उत्तराद्र्धमा कोरोनाको महामारीलाई कारकतत्व ठान्दै मन्त्रालय र परिषद्का पदाधिकारी पछि हटेका थिए । सम्बन्धित निकायले लामो समयदेखि कोरोनाका कारण मुलुकमा खेलकुदका गतिविधि नभएका र अहिलेको अब स्थामा जिल्ला र प्रदेशमा राष्ट्रिय प्रतियोगिताका लागि छनोट प्रतियोगिता गर्न नसकिने र नवौँ राष्ट्रिय तोकिएको समयमा नहुने राष्ट्रिय खेलकुद सङ्घका पदाधिकारीलाई जानकारी गराएका थिए । यसअघि नवौँ राष्ट्रिय खेलकुद आगामी फागुन २० गतेदेखि गण्डकी प्रदेशको पोखरामा आयोजना हुने तय गरिएको थियो ।

भौतिक पूर्वाधार तयारी अब स्थामा रहँदा तीन महिनाको समय काफी हुन्छ । विगतको इतिहासलाई पल्टाउँदा पनि यो कुरालाई पुष्टि गर्छ । त्यो समयमा भौतिक पूर्वाधारको कमीले गर्दा प्रतियोगिताको आयोजना अन्योलमा पर्ने देखिए पनि अहिलेको अब स्था त्यस्तो थिएन । गत वर्ष सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का दौरान पोखरामा निर्माण भएका पूर्वाधार राष्ट्रिय खेलकुदका लागि सकारात्मक पाटो बनेका थिए । जसले गर्दा तोकिएकै समयमा नवौँ राष्ट्रिय खेलकुदको आयोजनाको लागि पोखरा तयारी अब स्थामा पनि थियो । तर एक्कासी सम्बन्धित निकायले तोकिएको समयमा पोखरामा राष्ट्रिय खेलकुद नहुने सङ्केत गरेपछि अहिले आयोजक गण्डकी प्रदेश, खेलाडी र पदाधिकारीहरूमा निराशा छाएको छ ।

मुलुकमा कोरोनाको महामारी कहिलेसम्म रहन्छ त्यसको अत्तोपत्तो कसैलाई छैन । यस्तो अब स्थामा सरकारले मुलुकलाई अनिर्णयको बन्दी बनाउनुभन्दा कोरोनाविरुद्ध सचेतना जगाउँदै नियमित कार्य गर्नमा कुनै पनि निकायलाई रोक लगाएको छैन । परिणामतः अहिले सवारी साधन, उद्योगधन्धा, कल–कारखाना, व्यापार व्यावसाय, सरकारी तथा निजी कार्यालय, स्कुल कलेजसमेत प्रायः सञ्चालनमा आइसकेका छन् । माथि उल्लेखित यी सबै निकायहरूमा मानिसहरूको भीडभाड देख्दा मुलुकमा कोरोनाको माहामारी छ भन्ने कुनै कोणबाट प्रतीत हुँदैन । यसरी कोरोना सर्न सक्ने एकदमै जोखिम भएका स्थानहरूमै कोरोनालाई चुनौती दिँदै आएको अहिलेको ताजा उदाहरण हो । तर सम्बन्धित निकायले खेलाडीहरूको सुरक्षाको बहाना बनाउँदै नवौँ राष्ट्रियको आयोजनाप्रति प्रश्नचिन्ह खडा गर्नु भनेको आफ्नो खुट्टी लुलो भएको प्रमाणित गर्नु या नाच्न नजान्ने आँगन टेढो भन्ने उखानको चरितार्थ मात्रै हो । यसलाई खेलाडीहरूको सुरक्षाको लागि चालिएको कदम किमार्थ भन्न मिल्दैन । उनीहरूलाई बहाना चाहिएको थियो, कोरोना उपयुक्त बहाना बन्यो, यथार्थ यही हो ।

साँचो कुरा त सरकार नै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न चाहँदैनथ्यो । अन्यथा अन्य क्षेत्रका व्यक्तिको सुरक्षाप्रति सरकार कसरी उदासिन हुन सक्छ ? उनीहरूको सुरक्षाप्रति सरकार गम्भीर हुनु पर्दैन ? के उनीहरू देशका नागरिक होइनन् ? यसको जवाफ सरकारसँग छैन । खेलाडीप्रति मात्रै किन सरकार यस्तो सम्वेदनशील भयो होला त ? यो अहिले खेलकर्मी, खेलाडी र खेलपे्रमीले नबुझेको विषय हो ।

हो, मुलुकमा कोरोनाको माहामारी समाप्त भएको छैन, अहिले पनि यसको प्रभाव नेपालमा मात्र नभइ विश्वभरि नै ज्यूँकात्यूँ छ । तथापि, विश्वभरि दोश्रो पटकको लकडाउन शुरु हुँदा पनि खेलकुदका गतिविधिलाई त्यति नै प्राथमिकतामा राखेर आयोजन गरिँदै आएको छ । कोरोनाको महामारी फैलिएका र अहिले पनि त्यसको चङ्गुलबाट बाहिर निस्कन नसकेका एवम् पहिलेको भन्दा बढी माहामारी खेपिरहेका देशमा खेलकुदका गतिविधिलाई बढावा दिइएको छ । परिणामस्वरुप हिजोसम्म पूरै खालि देखिने रङ्गशालामा अहिले खेलप्रेमी दर्शकहरूको उपस्थिति बाक्लो देखिन थालेको छ । बेलायत, अमेरिका, इटाली, स्पेन, फ्रान्स, जर्मनी, ब्राजिल, रसिया, चीन र जापानलगायतका देशमा बढ्दै गएको खेलकुदको गतिविधिले पनि यो कुरालाई प्रमाणित गर्छ ।

कोरोनाले कुन–कुन निकायमा आफ्नो प्रभाव जमाइरहेको छ, त्यसको मूल्याङ्कन सम्बन्धित निकायले गरेको छ त चुरो कुरो यहाँ छ । खेलकुदमा पनि केहि नगन्य खेलाडी, पदाधिकारी, प्रशिक्षक र कर्मचारी कोरोनाको चपेटामा नपरेका होइनन् तर कोरोनाले नेपाली खेलकुदलाई कत्तिको गाँजेको छ, त्यो महत्वपूर्ण कुरा हो । साँचो अर्थमा भन्नुपर्दा केही अपवादबाहेक नेपाली खेलकुद कोरोनामुक्त छ, सबैसँग कोरोनासँग लड्न सक्ने स्टामिना छ भन्दा अतिशयोक्ति नहोला । अन्यथा खेलकुदसँग सम्बन्धित व्यक्ति विशेषको अप्रिय घटनाको खबर सुनिन्थ्यो होला नि ! त्यस्तो खबर अहिलेसम्म सुनिएको छैन, यसको मतलब नेपाली खेलकुद स्वस्थ छ, कोरोनामुक्त छ ।

खेलकुद मन्त्रालय र राखेपले खेलाडीको सुरक्षालाई विशेष प्राथमिकतामा राख्दै नवौँ राष्ट्रिय खेलकुदलाई अर्को वर्ष सार्ने पक्का भइसकेको छ । यस्तो अब स्थामा के सरकार खेलाडीको सुरक्षाप्रति साँच्चिकै गम्भीर छ त भन्ने कौतुहलता उत्पन्न हुनु स्वभाविकै हो । बाहिरी आवरणमा हेर्दा यस्तो देखिए पनि गुह्य कुरो अर्कै छ । सम्बन्धित निकायलाई खेलाडीको सुरक्षाभन्दा पनि बजेटको अभावका कारण प्रतियोगिता सार्नु परेको हो । गत वर्ष मात्रै नेपालमा १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को आयोजना भएका कारण सरकारले नवौँ राष्ट्रियलाई अर्को वर्ष सार्न निर्देशन दिएको हुन सक्ने अनुमान लगाउन सकिन्छ । अन्यथा, सरकारको नीति तथा कार्यक्रममा नवौँ राष्ट्रिय खेलकुदको आयोजना फागुनको तेस्रो सातामा हुने भनेर प्रस्ट रूपमा उल्लेख गरिएको छ, जुन कुरा संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले पढेरै सुनाउनुभएको हो । यस्तो अब स्थामा नवौँ राष्ट्रिय प्रतियोगिता नहुनु भनेको अन्य कुनै कारण हुन सक्तैन । राष्ट्रपतिले लालमोहर लगाएको कुरालाई सम्बन्धित निकायले उपेक्षा अर्थात् नजरअन्दाज गर्न कदापि मिल्दैन ।

यतिबेला मुलुकमा प्रतिनिधिसभा निर्वाचनको मिति तोकिसकिएको अब स्था छ, जसअनुसार वैशाखमा निर्वाचन हुनेछ । राखेपले अर्को वर्ष नवौँ राष्ट्रिय गर्ने भनेको छ तर अहिलेसम्म मिति तोकेको छैन । राखेपका एक पदाधिकारीले अब छिट्टै नवौँको मिति तोकिने जानकारी गराएका छन् । यतिबेला मुलुकमा राजनीतिक अन्योलता छ, यस्तो अब स्थामा कुनै कुराको पनि घोषणा गर्न असहज हुन्छ, त्यसैले नवौँ राष्ट्रियको मिति तोक्नमा ढिलाइ भइरहेको उनको तर्क छ । मुलुकमा राजनीतिक अन्योलता मौलाएको थुप्रै समय भइसकेको छ, यस्तोमा कोरोना महामारीको प्रभावले खेलकुदका गतिविधिलाई ठप्प पारेको छ ।

यतिबेला केही खेलका गतिविधि अर्थात् प्रतियोगिता र प्रशिक्षण सञ्चालन भए पनि अन्य खेलकुदका प्रतियोगिता भने हुन सकेका छैनन् । राखेपले कोरोनाको माहामारीलाई अगाडि सार्दै प्रतियोगिता आयोजना अनुमति दिएको छैन र पनि, केही महिनापछि मुलुकमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गरिन लागेको छ । यस्तोमा सम्बन्धित निकायले चाहेको भए निर्धारित समयमै नवौँको आयोजना हुन सक्थ्यो । विडम्बना ! सत्तारुढ नेकपाभित्र चलेको आन्तरिक कहलका कारण नवौँ राष्ट्रियको बली चढेको छ । यस परिवेशमा अर्को वर्ष पनि नवौँ राष्ट्रिय प्रतियोगिता हुन्छ भन्ने यकिन गर्न सकिँदैन ।