भारतका पूर्व कप्तान गाङ्गुलीको मुटुको शल्यक्रिया सम्पन्न

भारतका पूर्व कप्तान गाङ्गुलीको मुटुको शल्यक्रिया सम्पन्न


भारतीय क्रिकेटका महान् खेलाडी सौरभ गाङ्गुलीको मुटुको सल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको उनको उपचारमा संलग्न अस्पतालले जानकारी गराएको छ ।

गाङ्गुलीलाई शनिबार बिहान जिममा व्यायाम गर्ने क्रममा ह्रदयघात भएपछि तुरुन्तै पश्चिम बंगाल राज्यको राजधानी कलकत्ताको वुडल्याण्ड अस्पतालमा लगिएको थियो ।

‘सौरभ गाङ्गुलीको एन्जियोप्लास्टी भएको छ र उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको छ’, गाङ्गुलीको उपचारमा सम्लग्न चिकित्सक सरोज मण्डलले जानकारी दिएका छन् ।

गाङ्गुली बिरामी भएको खबरपछि उहाँलाई उपचारका लागि भर्ना गरिएको वुडल्याण्ड अस्पतालमा क्रिकेटका पूर्वकप्तानका आफन्त तथा सुभेच्छुक अस्पताल परिसरमा जम्मा हुँदा ठूलो भीड लागेको छ । भारतीय क्रिकेट बोर्डको नेतृत्वसमेत गरिरहेका ४८ वर्षीय पूर्वकप्तान गाङ्गुलीको अवस्था अनुगमन गर्न अस्पतालले पाँच चिकित्सकहरूसहितको एक मेडिकल टोली गठन गरेको बताइएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का सचिव जय शाहले उनले गांगुलीको परिवारलाई उद्धृत गर्दै भने, ‘मैले गाङ्गुलीको परिवारसँग कुराकानीका क्रममा पारिवारिक एक सदस्यले उहाँको अवस्था स्थिर रहेको र उपचारमा राम्रो प्रतिक्रिया मिलिरहेको जानकारी पाएको छु ।’ गाङ्गुली सन् २०१९ मा सर्वसम्मत रूपमा बीसीसीआईको अध्यक्ष निर्वाचित भएका थिए । सफल खेलाडीको रूपमा उनले लामो समय भारतीय क्रिकेटको नेतृत्व गरेका थिए भने गाङ्गुलीले संयुक्त अरब इमिरेट्समा गत वर्ष सम्पन्न इन्डियन प्रिमियर लिग सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

बायाँ हातको जादुमयी खेलका लागि चिनिने गाङ्गुलीले सात हजार २१२ र र १६ सेन्चुरीको रेकर्ड कायम गरी टेस्ट क्रिकेटबाट सन् २००८ मा विदा लिएका थिए । उनले एक दिवसीय ३११ अन्तर्राष्ट्रिय खेलबाट एघार हजार ३६३ रनको रेकर्ड बनाएका छन् ।