केबीएले ब्यावसायिक ब्याडमिन्टन खेलाडी उत्पादन गर्ने

केबीएले ब्यावसायिक ब्याडमिन्टन खेलाडी उत्पादन गर्ने



ब्याडमिन्टन खेलमा उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देष्यसहित काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) स्थापना भएको छ ।

राष्ट्रिय प्रतियोगितामा तीनपल्ट च्याम्पियन रहिसकेका रीता अधिकारी विष्टको अध्यक्षतामा केबीए स्थापना भएको हो । विष्ट २०३१, ०३२ र ०३४ सालमा च्याम्पियन बनेकी थिइन् ।

गैरनाफामूलक संस्थाको हैसियतमा केबीएको स्थापना भएको हो । केबीएले राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रियस्तरमै नेपालको नाम उच्च पार्न सक्ने खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको प्रेस विज्ञप्तीमा जनाइएको छ । त्यसको लागि शुभारम्भ दुई जना प्रशिक्षक र भविष्यमा विदेशी प्रशिक्षक ल्याएर विद्यार्थी र खेलाडीहरुलाई प्रशिक्षण दिने केबीएको योजना छ । ६ महिनाको अथक प्रयासपछि औपचारिकता पाएको केबीएले नयाँ वर्ष २०२१ देखि आफ्नो कार्य आरम्भ गरेको जानकारी दिइएको छ ।

केबीएको सचिवमा ब्याडमिन्टन एसियाका अम्पायर दीपक थापा छन् । काठमाडौं जिल्ला ब्याडमिन्टन संघको अध्यक्षसमेत रहेका थापाले रियो ओलम्पिक २०१६ मा निर्णायकको भूमिका निर्वाह गरेका थिए । केबीएको परिकल्पना गरेका थापाले एकेडेमीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा समन्वय गर्ने बताइएको छ । एकेडेमीका उपाध्यक्ष रुपक राजवंशी र कोषाध्यक्ष मनोज श्रेष्ठ छन् । त्यस्तै २०३७, ०३९ र ०४० सालकी राष्ट्रिय च्याम्पियन शान्ति मानन्धर एकेडेमीको संस्थापक सदस्य रहेकी छिन् ।

केबीएले ट्रेनिङ हलको लागि ललितपुरको नख्खुमा रहेको बुल्स इन्डोर स्पोर्ट्स हलसँग दुईवर्षे सम्झौता गरेको छ । सम्झौता–पत्रमा केबीएका थापा र बुल्स इन्डोर स्पोर्टस् हलका सिओओ करण पुनले हस्ताक्षर गरेका थिए । केबीएको मुख्य प्रशिक्षकका पूर्व राष्ट्रिय खेलाडीसमेत रहेका रुपमा बालकृष्ण थापा छन् । उनले ओलम्पिक सोलिडारिटी कोर्स गरेको र प्रशिक्षकको रुपमा २० वर्षयता सक्रिय छन् । यस्तै अर्को प्रशिक्षक पुरुषोत्तम ढकाल छन् । पूर्व राष्ट्रिय खेलाडी रहेका ढकालले बिडब्लुएफ लेवल १ गरेका प्रशिक्षक हुन् । उनी एक दशकदेखि प्रशिक्षकका रुपमा कार्यरत छन् ।

केबीएले व्यावसायिक खेलाडी उत्पादन गर्ने प्रमुख लक्ष्य बनाएको छ । त्यसको लागि भविष्यमा स्वदेश तथा विदेशका उत्कृष्ट प्रशिक्षकवाट एकेडेमीका खेलाडीलाई प्रशिक्षण दिने बताएको छ । साथै खेलाडीलाई शिक्षा, सुरक्षा, मनोरञ्जन र सहभागिमा जोड दिनुको साथै विदेशी एकेडेमीसंग सहकार्य गर्ने जानकारी गराएको छ ।

सो अवसरमा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, केबीएका अध्यक्ष रीता विष्ट र सचिव थापाले केबीएको टिसर्ट सार्वजनिक गरेका थिए ।