कोभिडसँग लड्न टोखामा क्रस दुवाथलन च्यालेन्ज

कोभिडसँग लड्न टोखामा क्रस दुवाथलन च्यालेन्ज



नेपाल ट्राइयाथलन संघको आयोजनमा पुष २५ गते शनिबार टोखामा क्रस दुवाथलन च्यालेन्ज हुने भएको छ । च्यालेन्ज उपत्यकाको ऐतिहासिक पुरानो शहर टोखाको गणेशस्थान देखि चन्डेश्वरीसम्मको स्थानमा आयोजना हुने आयोजकले जनाएका छन् ।

ट्राइयाथलनको विधाहरूमध्ये क्रस दुवाथलन पनि एक हो । क्रस दुवाथलनमा २.५ कि.मि. दौड, १० कि.मि. साइक्लिङ र १.५ कि.मि. दौड हुने संघका महासचिव एवं ट्राइयाथलनका विज्ञ युवराज सुनुवारले जनाएका छन् ।

मुलुक नै कोभिडबाट अक्रान्त रहेको अवस्थामा स्थानीय ब्यक्तिहरूलाई क्रियाशील गर्दै खेलमार्फत खेलाडीहरूको रोगसँग लड्न सक्ने क्षमता अभिबृद्धि गर्ने उद्देश्यले च्यालेन्ज आयोजना गर्न लागेको संघले जानकारी गराएको छ ।

यो च्यालेन्ज ट्राइयाथलनसँग आवद्ध खेलाडीहरु भन्दा नयाँ खेलाडीहरुलाई प्रार्थमिकतामा राखेर आयोजना गर्न लागेको हो । यो च्यालेन्ज काठमाडौको टोखा, कीर्तिपुर र ललितपुर गरी तीन स्थानमा पाक्षिक रूपमा आयोजना हुनेछ ।

एक स्थानमा दुई–दुई पटक आयोजना गर्ने लक्ष्य राखेको संघले स्थानीय निकायसँग समन्वय गरी आयोजना गर्ने जनाएको छ । त्यस्तै अन्य स्थानमा पनि खेलस्थलको निरीक्षण पश्चात च्यालेन्ज आयोजना गर्ने संघले जनाएको छ ।

च्यालेन्जले लामो समयका लागि खेलाडी उत्पादन गर्न र खेलाडीहरुलाई खेलप्रति उत्साहित गर्न मद्धत मिल्ने संघले जनाएको छ । संघले उपत्यकाबाहिरका स्थानलाई महत्वमा राख्दै स्थानीय खेलाडी उत्पादन, प्रचारप्रसारमा नआएका स्थानलाई उजागर गर्दै आन्तरिक पर्यटन विकासलाई समेत मध्यनजर राख्दै प्रतियोगिताहरू आयोजना गर्दै जाने लक्ष्य राखेको छ ।

च्यालेन्जलाई जम्प नेशनले सहयोग गर्न सक्ने संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले बताए । जम्प नेशनसंग च्यालेन्जलाई सहयोग गर्ने बिषयमा छलफल भैरहेको अध्यक्षले बताए । कोभिडको कारण प्रतियोगिताहरु नभईरहेको अवस्थामा खेलकुदलाई क्रियासील बनाउनुका साथै कोभिडबाट बच्न ब्यक्तिहरूमा रोग संग लडन सक्ने क्षमता उत्पादन गर्न समेत यसले सहयोग पुग्नेछ अध्यक्ष श्रेष्ठले बताए ।