देशव्यापी टेबल टेनिस प्रतियोगिता चैत्रमा

देशव्यापी टेबल टेनिस प्रतियोगिता चैत्रमा



स्पीन इभेन्टस प्रालिको आयोजनामा चैत्रको पहिलो सातादेखि देशब्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता हुने भएको छ । प्रतियोगिता अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रम अन्तर्गत हुन लागेको हो ।

लैनचोरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगिता चैत्र २ देखि ७ गतेसम्म संचालन हुनेछ । लामो समयदेखि कोभिड १९ को महामारीले खेलकुद गतिविधि बन्द रहेको स्थितिमा खेलाडीहरुको मनोबल उच्च बनाउने उद्देश्यले प्रतियोगिता आयोजना हुन लागको हो । प्रतियोगिता सरकारले लागु गरेको नागरिक स्वास्थ्य मापडण्डमा रहेर आयोजना हुनेछ ।

प्रतियोगितामा मेन्स टीम, वुमेन्स टीम, मेन्स सिंगल, वुमेन्स सिंगल, मेन्स भेट्रान सिंगल (४० वर्षभन्दा माथि) र मेन्स सिंगल भेट्रान (५५ वर्ष माथि) गरेर ६ स्पर्धा समावेस गरिएको छ । देशभरका वडा खेलाडीहरुले प्रतियोगितामा प्रत्यक्ष प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको अनुमानित बजेट १९ लाख ५० हजार रहेको आयोजनाले जनाएको छ । विजयी खेलाडी शिल्ड, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सिंगल प्रतिस्पर्धामा पहिलो, दोश्रो र तेस्रो हुने खेलाडीलाई नगद पुरस्कार पनि प्रदान गरिने छ ।