भलिबलमा प्रतिभावन खेलाडीको घोषणा

भलिबलमा प्रतिभावन खेलाडीको घोषणा



राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले नयाँ प्रतिभावन खेलाडीको घोषणा कार्यक्रम अन्तर्गत राष्ट्रिय खेल भलिबलमा २४ खेलाडीको छनोट गरेको छ ।
त्यसमा समान १२–१२ पुरुष/महिला खेलाडी रहेको भलिबल प्रशिक्षक जगदीश भट्टले जनाएका छन् । खेलाडीको प्रतिभा र उचाइका आधारमा ५२ खेलाडी मध्येबाट २४ खेलाडीको छनोट गरिएको भट्टले जानकारी दिए ।

राखेप सदस्य–सचिव रमेशकुमार सिलवालले कार्यक्रमको औपचारिक रुपमा घोषणा गर्दै प्रत्येक खेलाडीलाई प्रोत्साहन स्वरुप मासिक ३ हजार रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाए । सदस्य–सचिव सिलवालले भलिबलमा देशका लागि योगदान दिने खेलाडी उत्पादन गर्न कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।

सहभागीलाई प्रशिक्षक भट्टसहित अर्का प्रशिक्षक लालबहादुर बटालाले प्रशिक्षण दिने छन् । पहिलो चरणमा छ महिनासम्म खेलाडीलाई कञ्चनपुरको महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण केन्द्रमा प्रशिक्षण दिइने छ ।