पुष्पलाल स्मृति ब्याडमिन्टनको तयारी पूरा

पुष्पलाल स्मृति ब्याडमिन्टनको तयारी पूरा



१०औँ संस्करणको योनेक्स सनराइज पुष्पलाल स्मृति ऱ्याङ्किङ ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बताएका छन् ।

नेकपाको भातृसंगठन नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र गोलबजार नगरपालिका, लाहानको संयुक्त आयोजनामा हुने प्रतियोगिता पौष २९ गते देखि माघ ३ गतेसम्म गोलबजार, लहानमा हुँदै छ । प्रतियोगितालाई नेपाल ब्याडमिन्टन संघ र गोलबजार ब्याडमिन्टन संघले सहयोग गर्ने भएका छन् ।

एक मात्र राष्ट्रिय ऱ्याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ अध्यक्ष वीरेन्द्र श्रेष्ठले बताए । ब्याडमिन्टन खेलको विकास र विस्तार गर्ने उद्देश्यले प्रतियोगितालाई उपत्यका बाहिर आयोजना गर्दै जाने लक्ष संघको रहेको छ । गोलबजार ब्याडमिन्टन क्लबको सहयोगमा गोलबजार नगरपालिकाले खेलाडीहरूको खाने, बस्ने र प्रतियोगिता आयोजनाको ब्यवस्था गर्ने संघका अध्यक्षले बताए ।

प्रतियोगितामा पुरुष एकल (शीर्ष १६ स्थानका खेलाडीहरू) र महिला एकल (शीर्ष १२ स्थानका खेलाडीहरू), पुरुष एकल (शीर्ष १६ देखि बाहेक) र महिला एकल (शीर्ष १२ देखि बाहेक), पुरुष तथा महिला युगल, छात्र तथा छात्रा यु–१७ एकल र ४५ बर्ष माथिको भेट्रान्स युगल गरि १० विधामा प्रतिपर्धा हुने छ । प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघसंग आवद्ध ४७ जिल्ला, तीन विभागीय टोली नेपाली सेना त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब गरी करिव २०० खेलाडीहरूले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको ऱ्याङ्किङ्ग प्रतिस्पर्धामा सहभागी खेलाडीहरूले सहभागिता भएबापत १ हजार ५ सय प्राप्त गर्ने छन् । यस्तै पहिलो चरण लिगमा बिजयी हुने खेलाडीहरूले प्रत्येक खेलवापत थप १ हजार ५ सय प्राप्त गर्नेछन् । यस्तै क्वाटरफाईनमा विजयी खेलाडीहरूले ८ हजार प्राप्त गर्ने छन् भने सेमिफाईनलमा विजयी खेलाडीहरूले १६ हजार प्राप्त गर्ने छन् । यस्तै प्रतियोगितामा विजयी खेलाडीहरूले थप २० हजार प्राप्त गर्नेछन् भने उपविजेता खेलाडीहरूले थप ५ हजार प्राप्त गर्नेछन् ।

यस्तै अन्य विधामा ¥याङ्किङ्ग बाहेकका प्रतियोगितामा पुरुष तथा महिला एकल र युगल, यस्तै ४५ बर्ष माथिको भेट्रान्स युगलका विजयी खेलाडीहरूले नगद २० हजार, उपविजेताले नगद १० हजार र शीर्ष चारमा पुग्नेले नगद ५/५ हजार प्राप्त गर्नेछन् । यसैगरि छात्र तथा छात्रा यु – १७ का विजयीले नगद १५ हजार, उपविजेताले नगद ८ हजार र शीर्ष चारमा पुग्न सफल खेलाडीले नगद ४/४ हजार प्राप्त गर्नेछन् । खेलाडीहरूले नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

कुल १९ लाख ८४ हजार लागत रहेको प्रतियोगितामा पुरस्कारतर्फ ५ लाख ५८ हजार तथा अन्य संचालन खर्च रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा ब्याडमिन्टन खेल सामाग्री उत्पादक तथा वितरक योनेक्स सनराईज रहेको छ । योनेक्सले नेपालमा ब्याडमिन्टन खेलको विकासमा सहयोग पु¥याउने उद्देश्यले लामो समयदेखि विभिन्न प्रतियोगितामा प्रायोजन गर्दै आइरहेको छ । यस्तै सह प्रायोजकमा राष्ट्रिय खेलकुद परिषद् रहेको छ ।