पोखरालाई खेलकुद शहरको रूपमा चिनाउन ‘पोखरा म्याराथन’

पोखरालाई खेलकुद शहरको रूपमा चिनाउन ‘पोखरा म्याराथन’



अग्रज खेलाडीहरूको छातासंस्था ‘भूतपूर्व खेलाडी मञ्च नेपाल’को आयोजनामा ‘१५औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ हुने भएको छ । उक्त म्याराथन आगामी फागुन १ गते हुने आयोजकले जानकारी गराएका छन् ।

सो बारेमा जानकारी दिन मञ्चद्वारा आयोजित पत्रकार सम्मेलनमा ४२.१९५ किलोमिटरको म्याराथनसंगै यो संस्करणबाट महिलाहरुको हाफ म्याराथन (२१ किलोमिटर) समेत हुने बताएका छन । मञ्चका अध्यक्ष तेज गुरुङले पोखरालाई खेलकुद शहरको रुपमा विश्वमा परिचय गराउन पोखरा म्याराथनले भूमिका खेलेको बताउँदै कोभिड–१९ यो कठिन समयमा समेत यसलाई निरन्तरता दिन लागिएको बताए ।

म्याराथन केवल प्रतियोगिताका लागि मात्रै आयोजना भएको नभई पोखरालाई ‘सिटी म्याराथन’को अवधारणा अनुरुप विश्वमा परिचय गराउन यसको भुमिका रहने गुरुङले बताए ।

कोभिड–१९ का कारण पोखरा म्याराथन अन्तर्गत आयोजना हुने १० किमी महिला–पुरुष, ५ किलोमिटर छात्र–छात्रा तथा दृष्टिविहीनहरुको दौड र अपाङ्गहरुको ह्विल चियर दौड भने फरक–फरक मितिमा आयोजना हुने अध्यक्ष गुरुङले जानकारी दिए । मञ्चले आगामी दिनमा आफ्ना भावी योजनाका साथ अघि बढेको बताउँदै उनले म्याराथन सँगै सामाजिक क्षेत्रमा समेत आफ्ना भावी कार्यक्रमहरु तय गरेको बताए ।

पोखरा म्याराथनअन्तर्गत हुने दृष्टिविहीनहरुको दौड तथा अपाङ्गहरुको ह्विल चियर दौड फागुन २२ गते, १० किमी महिला–पुरुष दौड चैत १४ गते र ५ किलोमिटर छात्र–छात्रा दौड वैशाख ४ गते आयोजना हुने मञ्चले जनाएको छ । प्रतियोगिता अन्तर्गत ४२.१९५ किमी म्याराथन तर्फ प्रथम, द्वित्तिय, तृतिय र चौथो स्थान हासिल गर्ने धावकले क्रमश नगद रु २ लाख, १ लाख, ७५ र २५ हजार प्राप्त गर्नेछन । त्यस्तै महिला हाफ म्याराथनमा प्रथम, द्वित्तिय, तृतिय र चौथो स्थान हासिल गर्ने खेलाडीले क्रमश नगद रु १ लाख, ७५ हजार, ५० र १५ हजार प्राप्त गर्ने मञ्चका महासचिब खेम गुरुङले जानकारी दिए ।

त्यस्तै, ह्विल चियर महिला–पुरुष तथा दृष्टिविहीन महिला÷पुरुष दौडतर्फ प्रथम, द्वित्तिय, र तृतिय स्थान हासिल गर्ने खेलाडी क्रमशः नगद ७, ५ र ३ हजार प्राप्त गर्ने छन भने १० किलोमिटर महिला र पुरुषतर्फ विजेत खेलाडीले क्रमश नगद रु १५, १० र ५ हजार तथा ५ किलोमिटर छात्र–छात्राको दौडमा विजेता खेलाडीले नगद १०, ७ र ४ हजार प्राप्त गर्ने मञ्चले जनाएको छ ।

पोखराको प्रतिष्ठित औद्योगिक संस्था सफल दुधको मुख्य प्रायोजनमा हुने १५ औं सस्करणको पोखरा म्यारथन सम्पन्न गर्न करिव ५१ लाख खर्च हुने मञ्चले जनाएको छ । पोखरा म्याराथनलाई राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर पोखरेली मञ्च युके, गैरआवासिय नेपाली संघ युके, गैर आवासिय नेपाली संघ हङकङ लगाएत अन्य उद्योग तथा व्यवसायीले सहयोग गर्ने छन भने नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गर्ने भएको मञ्चले जनाएको छ ।

पोखरा म्याराथन पोखरा रंगशालाबाट शुरु भएर पोखरा महानगरका १७ वटा वडाका सडक मार्ग हुँदै पुनः पोखरा रंगशालामा पुगेर समापन हुने मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटले जानकारी दिएका छन । कोभिडका कारण यो वर्ष भने पोखरा म्याराथनको लोकप्रिय रहेको ‘रन फर फन’ नहुने भएको तर सवै पोखरेलीहरुलाई आफ्नो परम्परागत भेषभुषा तथा बाजा गाजासहित खेलाडीलाई घर आँगन र चोकहरुमा उभिएर स्वागत गर्न उनले आग्रह गरेका छन् ।

मञ्चका अध्यक्ष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मी ग्रुपका उप–निर्देशक निरज श्रेष्ठ मञ्चका सचिब कृष्ण तिमिल्सिनाले पोखरा म्याराथनलाई सदा झैँ सफल बनाउन आग्रह गरेका थिए ।