गणेशमान सिंह स्मृति बक्सिङ फागुनको तेस्रो साता

गणेशमान सिंह स्मृति बक्सिङ फागुनको तेस्रो साता



नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आगामी फागुन तेस्रो साता हुने भएको छ ।

नागार्जुन नगरपालिकाको विशेष सहयोगमा नागार्जुन बक्सिङ खेलकुद समितिको आयोजनामा हुने प्रतियोगिता फागुन १९ देखि २२ गतेसम्म काठमाडौंैंको स्युचाटारमा हुने आयोजक पक्षले जानकारी गराएको छ ।

प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूह र पुरुषमा ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुने बताइएको छ । प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाका खेलाडी सहभागी हुने मूल आयोजक समितिका संयोजक एवम् नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिए ।

प्रतियोगिताका हरेक तौल समूहका विजेता खेलाडीले नगद १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै, दोस्रो हुनेले सात हजार र तेस्रो स्थान हासिल गर्ने दुई खेलाडीले जनही चार हजार रुपैयाँ इनाम पाउने छन् । प्रतियोगिता सञ्चालनका लागि नागार्जुन नगरपालिकाले २० लाख रुपैयाँ बजेट उपलब्ध गराउने नगरप्रमुख बस्नेतले जानकारी दिए । उनले प्रतियोगिताको उत्कृष्ट महिला बक्सरलाई व्यक्तिगत खर्चमा एक थान स्कुटर प्रदान गरिने घोषणा पनि गरे । उत्कृष्ट पुरुष खेलाडीलाई आयोजकले मोटरसाइल प्रदान गर्ने छ ।

प्रतियोगितालाई सफल बनाउन नगरप्रमुख बस्नेतको संयोजकत्वमा एक सय एक सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । प्रतियोगिताका दौरान १३औँ दक्षिण एसियाली खेलकुदमा बक्सिङका पदक विजेता खेलाडीलाई पनि सम्मान गरिने नगर प्रमुख बस्नेतले बताए ।