ऐतिहासिक स्वर्ण पदकसहित एथलेटिक्स टोली फर्कियो स्वदेश

ऐतिहासिक स्वर्ण पदकसहित एथलेटिक्स टोली फर्कियो स्वदेश



बंगलादेशको ढाकामा सम्पन्न बंगबन्धु शैख मुजिब ढाका म्याराथनमा सहभागी भइ दुई खेलाडीसहितको तीन सदस्यीय नेपाली एथलेटिक्स टोली स्वदेश फर्किएको छ ।

जनवरी १० मा भएको म्याराथनमा नेपालबाट समान १–१ पुरुष÷महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

महिलामा पुष्प भण्डारीले ऐतिहासिक स्वर्ण जितेकी थिइन् । नेपाली एथलेटिक्सको इतिहासमा कुनै पनि नेपाली महिला खेलाडीले अन्तर्राष्ट्रिय म्याराथनमा स्वर्ण जितेको यो पहिलो अवसर हो ।

पुष्पा १३औँ दक्षिण एसियाली खेलकुद (साग) की रजतविजेता हुन् । पुरुषमा १३औँ सागका स्वर्ण विजेता किरणसिंह बोगटी चौथो भए ।

टोलीलाई नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले स्वागत गरे । नेपाली टोली ढाकाबाट कोलकातासम्म हवाइमार्गबाट आए पनि मौसमका कारण उडानमा ढिलाइ भएपछि कोलकात्ताबाट टोली स्थलमार्ग हुँदै बागडोग्रादेखि झापाको भद्रपुर र त्यहाँदेखि हवाइमार्गबाट काठमाडौं आएको हो । नेपालबाट ढाका जाँदा भने टोली हिमालयन एयरलाइन्सको चार्टर्ड विमानमा गएको थियो ।