पुष्पलाल स्मृति ब्याडमिन्टनको उपाधि प्रिन्स र जेशिकालाई

पुष्पलाल स्मृति ब्याडमिन्टनको उपाधि प्रिन्स र जेशिकालाई



सिल्क ग्रुपका प्रिन्स दाहाल र एपीएफकी जेशिका गुरुङले योनेक्स सनराइज १०औँ पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङ्किङ प्रतियोगिताको उपाधि उचालेका छन् ।

सेमिफाइनलमा शीर्ष बरियताका रत्नजितलाई पराजित गरेका प्रिन्सले शिर्ष १६ पुरुष एकलको फाईनलमा एपीएफका दिपेश धामीमाथि २१–१८, २१–१३ को जितका साथ पुष्पलाल ब्याडमिन्टनमा नयाँ इतिहास रचेका छन् ।

गोलबजार कभर्डहलमा भएको महिलाको शीर्ष १२ को प्रतिस्पर्धामा राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनलाई पराजित गर्दै एपीएफ जेशिका गुरुङ्गले उपाधि उचालिन । उनले १८–२१, २१–१५, २२–२० का साथ उपाधिमाथि कब्जा गरेकि हुन् । जेशिकाको पुष्पलाल मेमोरियल ब्याडमिन्टनमा दोश्रो उपाधि हो । यस अघि इटहरीमा भएको सातौ पुष्पलाल स्मृतिमा पनि जेशिकाले उपाधि जितेकि थिइन् । बिजेताले ५० हजार र उपबिजेताले २५ हजार तथा मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।

राष्ट्रिय ब्याडमिन्टन सङ्घ नेपाल र गोलबजार नगरपालिकाको संयुक्त आयोजनामा भएको पुरुष शिर्ष १६ बरियता बाहेकको एकलको प्रतिस्पर्धामा कैलालीका देवराज रानाले बाजी मारे । उनले सेनाका दिवश शंकरलाई १५–२१, २१–१८, २१–१६ ले पराजित गर्दै उपाधि जितका हुन् । यस्तै, शीर्ष १२ बरियताबाहेकको महिला एकलमा कैलालीकी प्रार्थना देउवाले बाजी मारिन् । देउवाले झापाकी अञ्जना राईलाई २१–९, २१–१३ ले पराजित गरेकी हुन् ।

पुरुष युगलतर्फको प्रतिस्पर्धाम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडीले उपाधि उचाल्यो । सेनाका जोडीले सेनाकै सुरोज महर्जन र पविन लिनथेपको जोडीमाथि २१–१९, १९–२१, २१–१३ को जित निकाल्दै उपाधि उचालेको हो ।

महिला युगल तर्फ पनि सेनाले उपाधि उचाल्यो । सेनाका राष्ट्रिय च्याम्पियन रशिला महर्जन र अमिता गिरीको जोडीले एपीएफका जेशिका गुरुङ र सुनयना मुखियाको जोडीलाई २१–१८, २१–१२ ले पराजित गरेको हो ।

ब्वाइज एकलतर्फ त्रिभुवन आर्मीका भोज बहादुर गुरुङ्ग च्याम्पियन बने । भोजले सेनाकै आयुष्मान नागरीलाई २१–१५, १९–२१, २१–१० ले पराजित गरे । यस्तै गल्र्स एकलमा पनि राष्ट्रिय च्याम्पियन सेनाकि रशिला महर्जनले विराट ब्याडमिन्टन क्लबकी रोज पाण्डेमाथि २१–१० को समान अन्तरले पराजित गर्दै उपाधि रक्षा गरिन् ।

भेट्रान्स युगलतर्फको प्रतिस्पर्धामा चितवनका सुभाष श्रेष्ठ र बाँकेका अनिल कुमार लाखेले बिजयी भए । श्रेष्ठ र लाखेको जोडीले कास्की पोखराका शोभाकर भण्डारी र नविन पराजुलीको जोडीलाई २१–१२, २१–१९ ले पराजि गरेका हुन् । लाखेले करिव १२ वर्षपछि कोर्टमा उत्रँदै उपाधि उचालेका हुन् ।

विजयी खेलाडीहरूलाई गोलबजार नगरपालिकाका मेयर देवनाथ शाह र उपप्रमुख रेशम कुमारी थापा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुभाष श्रेष्ठ, नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठ लगायतले पुरस्कार वितरण गरे ।

र्‍याङ्किङ बाहेकका प्रतियोगिताका पुरुष तथा महिला एकल र युगल, यस्तै ४५ वर्षमाथिको भेट्रान्स युगलका विजयी खेलाडीहरूले नगद २० हजार, उपविजेताले नगद १० हजार र शीर्ष चारमा पुग्नेले नगद ५÷५ हजार नगद सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।

यसैगरि छात्र तथा छात्रा यु–१७ का विजयीले नगद १५ हजार, उपविजेताले नगद ८ हजार र शीर्ष चारमा पुग्न सफल खेलाडीले नगद ४-४ हजारका साथै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।