अच्युत र करिशा विजयी

अच्युत र करिशा विजयी



नेपाल ट्राइयाथलन सङ्घ र जम्प नेशनको संयुक्त आयोजनमा भएको क्रस दुवाथलन सिरिजको दोश्रो संस्करणमा अच्युतकृष्ण खरेल र करिशा महर्जन विजयी भएका छन् ।

ऐतिहासिक शहर कीर्तिपुरको जाखामा भएको च्याम्पियनसीपमा ३७ मिनट २७ सेकेन्डका साथ खरेलले प्रथम स्थान हात पारेका हुन् । उनले जिम्बु थकालीको तर्फबाट प्रदान गरिएको २ हजार बराबरको भौचर र प्याङ्क बाइकको तर्फबाट २ हजार बराबरको फ्रि सर्भिसिङ भौचर प्राप्त गरे ।

स्थानीय खेलाडीहरूलाई प्रोत्साहन गर्दैैै नवप्रतिभाहरूलाई ट्राइयाथलन खेलसँग आवद्ध गर्ने र खेल समूदायको विकास गर्ने उद्देश्यले आयोजना गरिएको च्याम्पियनसीपको महिलातर्पm एक मात्र प्रतिष्पर्धी करिशाले १ घण्टा ८ मिनट ३० सेकेन्डका साथ विजय हात पारिन् । उनले काठमाडौं गेष्ट हाउसको तर्फबाट २ हजार बराबरको भौचर र प्याङ्क बाइकको तर्फबाट २ हजार बराबरको फ्रि सर्भिसिङ प्राप्त गरिन् ।

यस्तै पुरुषतर्फ ४५ मिनट १२ सेकेन्डका साथ आर्यन राई दोश्रो र ४५ मिनट २१ सेकेन्डका साथ सुशीम चित्रकार तेश्रो भए । दोश्रो हुने खेलाडीले क्याफेसिनोको तर्फबाट ५ सयबराबरको भौचर र प्याङ्क बाइकको १५ सयबराबरको साइकल मर्मत भौचर तथा तेश्रो हुने खेलाडीले प्यान बाइकको तर्फबाट एक हजार बराबरको साइकल मर्मतको भौचर प्राप्त गरे । यसका साथै प्रत्येक विजयी खेलाडीहरूले आयोजक जम्प नेशनको तर्फबाट प्रदान गरिएको ब्याग प्राप्त गरे ।

२.५ कि.मि. दौड, १० कि.मि. साइक्लिङ र १.३ कि.मि. दौडको क्रस दुवाथलनको बिजयी खेलाडीहरूलाई किर्तिपुर नगरपालिकाका मेयर रमेशकुमार महर्जन, कीर्तिपुरका डिएसपी रुकेश तण्डुकार, वडा नं. ६ का अध्यक्ष, सङ्घका अध्यक्ष एवम् नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

स्थानीय स्तरमा स्थानिय संस्थाहरू संग समन्वय गर्दै नव प्रतिभा पहिचान सहित खेलाडी उत्पादनका साथै खेल समुदायको बिकास गर्ने उद्देश्य जम्प नेशनको रहेकोले सोही लक्ष अनुरुप खेल क्षेत्रसँग सहकार्य गर्न जम्प नेशन अगाडि बढेको हो ।

सिरिजको पहिलो संस्करण काठमाडौंको उत्तरभेगीय प्राचीन सहर टोखामा सम्पन्न भइसकेको छ । प्रत्येक दुई हप्तामा हुने सिरिजको तेश्रो संस्करण ललितपुरको चापागाउँमा आयोजना हुने छ । यसैगरी चौथो संस्करण टोखा, पाँचौँ कीर्तिपुरमा हुनेछ । तीन महिनासम्म प्रत्येक दोश्रो हप्ता आयोजना हुने सिरिजको अन्तिम प्रतियोगिता उपत्यकाबाहिर आयोजना हुनेछ ।