उत्कृष्ट नेपाली खेलाडी जितबहादुर पुरस्कृत

उत्कृष्ट नेपाली खेलाडी जितबहादुर पुरस्कृत



अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीले दोश्रो आईओएफटीसी पुम्से अनलाइन भिडियो च्याम्पियनसिपका उत्कृष्ट पुरुष नेपाली खेलाडी जितबहादुर बोटलाई नगद पुरस्कार प्रदान गरेको छ ।

डिसेम्बर २८ देखि ३० तारिखसम्म पोर्टल्यान्डबाटै सञ्चालित उक्त प्रतियोगितामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का काँस्य पदक विजेता जित ब्ल्याकवेल्टतर्फ उत्कृष्ट खेलाडी चुनिएका हुन् ।

युवा तथा खेलकुद मन्त्री दावा तामाङले जितलाई प्रशंसा पत्रसहित १ सय ५० अमेरिकी डलर हस्तान्तरण गरे । सोही अवसरमा उक्त प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका नेपाली निर्णायक नोर्बु लामालाई पनि नगदसहित सम्मान गरिएको थियो । मन्त्री तामाङले लामालाई प्रशंसा पत्रसहित १ सय अमेरिकी डलर प्रदान गरे ।

त्यस्तै आईओएफटीसी हेल्प डेस्क टिम नेपाललाई पनि त्यसै अवसरमा प्रशंसा पत्रबाट सम्मान गरियो । संयोजक रामचन्द्र ब्याञ्जनकार तथा सदस्यहरू रजिन सिंह, निरोज गौतम, अर्जुन महर्जन र नमिका मोक्तान सम्मानित भए । अनुशासित टिम नेपाल प्रहरीलाई सम्मान स्वरूप प्रशंसा पत्र प्रदान गरिएको थियो ।

मन्त्री तामाङले खेलकुद र खेलाडीको हितका लागि मन्त्रालय सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरे । निर्णायक लामाले विदेशमा रहेर पनि नेपाली तेक्वान्दो र तेक्वान्दो खेलाडी प्रति आईओएफटीसीका संस्थापक दिवाकर महर्जनले गरेको योगदानको प्रशंसा गरे ।

आईओएफटीसीको २० औं स्थापना दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिएको थियो । २६ स्वर्ण, २४ रजत र २३ कांस्यसाथ अमेरिका टिम च्याम्पियन बनेको थियो । नेपाल १९ स्वर्ण, १४ रजत र २२ कांस्यसहित उपविजेता भएको थियो । प्रतियोगितामा विभिन्न २० राष्ट्रका २ सय ७० खेलाडीले विभिन्न ५० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

आईओएफटीसीले आयोजक गर्ने मुख्य प्रतियोगिता इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड– १९ ले गर्दा स्थगित भएपछि आईओएफटीसीले अनलाइन प्रतियोगिता आयोजना गरेको हो । पहिलो संस्कणको अनलाइन प्रतियोगिता गत जुनमा भएको थियो ।

गत मे पहिलो साता अमेरिकाको मिचिगनमा आईओएफटीसीको १३ औं संस्करण हुने तालिका थियो । यसअघि सम्पन्न १२ संस्करण मध्ये ५ संस्करण अमेरिका र ४ संस्करण नेपालमा भएको थियो । बाँकी १–१ संस्करण हङकङ, भारत र लन्डनमा भएका थिए ।