टोकियो ओलम्पिकको आयोजना अझैं अनिश्चित

टोकियो ओलम्पिकको आयोजना अझैं अनिश्चित


  • श्रीविक्रम भण्डारी

खेलकुदको कुम्भ मेलाको रूपमा परिचित ओलम्पिक खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्ने विश्वका प्रायजसो खेलाडीहरूको सपना हुन्छ । त्यसमध्ये विश्वका सर्वोकृष्ट र भाग्यमानी खेलाडीले मात्रै ओलम्पिकमा प्रतिस्पर्धा गर्ने अवसर पाउँछन् । विश्वका सर्वोकृष्ट खेलाडीका बीच हुने प्रतिस्पर्धामा सबै खेलाडीले पदक जित्न नसके पनि सहभागितालाई उनीहरूले आफ्नो सफलता मान्छन् । त्यसैले आम खेलाडीको लागि ओलम्पिक सहभागिता आफैमा विशेष महत्व राख्छ । खेलाडीले वर्षौंसम्म खेलकुदमा गरेको मेहनत, परिश्रम र लगानीको प्रतिफलको रूपमा ओलम्पिक सहभागितालाई लिइन्छ । त्यसैले खेलाडीहरूको लागि ओलम्पिक कुनै विशेष चाडभन्दा कम हुँदैन । तसर्थ, खेलाडीहरू ओलम्पिकमा सहभागिता जनाउन पाए आफ्नो खेल जीवन सार्थक भएको ठान्छन्, जुन आम खेलाडीहरूको लागि सुन्दर सपना हो ।

ओलम्पिक खेलकुदको नयाँ संस्करण आगामी २३ जुलाईदेखि जापानको टोकियो शहरमा सञ्चालन हुँदैछ । ‘टोकियो ओलम्पिक’को संज्ञा पाएको यो ओलम्पिक सन् २०२० मा आयोजना हुने तय भए पनि कोभिड–१९ का कारण स्थगित भएको थियो । विश्व खेलकुदका महारथी राष्ट्रहरूले कोभिडका कारण सुरक्षा व्यवस्थामा हुन सक्ने चुकलाई मध्यनजर गर्दै आफ्ना खेलाडीलाई सहभागिता नगराउने निर्णय गरेपछि टोकियो ओलम्पिकको आयोजना अनिश्चित बनेको थियो । यही कुरालाई आत्मसात गर्दै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले टोकियो ओलम्पिकको निर्धारित मितिलाई एक वर्ष पछि धकेल्दै सन् २०२१ को जुलाईदेखि आयोजना गर्ने निर्णय गरेको थियो । पछि आइओसीको यो निर्णयलाई विश्वका अन्य राष्ट्रहरूले स्वागत गरेका थिए ।

कोभिड–१९ले विश्वलाई आफ्नो चपेटामा लिएको अहिले एक वर्षको समय भइसक्दा पनि उक्त महामारी नियन्त्रणमा आएको छैन । उल्टै कोभिडले शक्तिशाली रूप धारण गर्दा विश्वमा यसको प्रभाव निकै बढेर गएको छ । यस्तोमा जापान पनि अछुतो रहेको छैन । पछिल्लो समय कोभिडको शक्तिशाली सङ्क्रमण जापानमा पनि देखिएपछि आउँदो टोकियो ओलम्पिकको आयोजनासमेत अनिश्चित बन्न पुगेको छ । यो नौलो महामारीका कारण टोकियो ओलम्पिक निर्धारित समयमा हुने कुरा आशङ्का व्यक्त गरिन थालिएको छ । विश्वका अन्य देशको तुलनामा जापानमा कोराना महामारीका केसहरू न्युन छन् । तर पछिल्लो केही सातामा जापानमा कोरोना सङ्क्रमणका केसहरू अत्याधिक बढेकाले यसको प्रभाव ओलम्पिक आयोजनामा पर्ने समेत देखिएको छ । कोरोनाको सङ्क्रमण अत्याधिक रूपमा बढ्न थालेपछि अहिले जापानले टोकियोलगायत आफ्ना मुख्य-मुख्य शहरमा आपतकालिन स्थितिको घोषणा गर्दै आन्तरिक र विदेशी पर्यटकहरूको लागि बोर्डर समेत बन्द गरेको छ ।

टोकियो ओलम्पिकको आयोजना हुन अझै ६ महिनाको समय बाँकी छ । यस्तो अवस्थामा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाकले हालै दिएको अन्तर्वार्तामा टोकियो ओलम्पिक निर्धारित समयमै हुने बताएका छन् । बाकले केही समयको अन्तरालमै जापानले कोरोनामाथि नियन्त्रण पाउने बताउँदै टोकियो ओलम्पिकमा कोरोनाको प्रभाव निष्प्रभाव हुने बताएका छन् । यतिबेला विश्वका खेलाडीहरू ओलम्पिकको तयारीमा जुटेको र आयोजक जापानले पनि टोकियो ओलम्पिकलाई भयरहित बनाउन कुनै कसर बाँकी नराखेको उनले खुलासा गर्दै खेलाडीहरूले विना सन्त्रास खेल्न पाउने कुरामा आफू ढुक्क रहेको अन्तर्वार्तामा बताएका थिए ।

त्यस्तै, टोकियो ओलम्पिक आयोजनाको बारेमा हालै गरिएको एक सर्वेक्षणमा जापानका ८० प्रतिसत व्यक्तिले गर्मीको समयमा ओलम्पिक खेलको आयोजना गर्न नहुने मत जाहेर गरेका छन् । उनीहरूले गर्मीको समयमा अन्य रोगको सङ्क्रमण पनि बढ्न सक्ने भएकोले ओलम्पिकको लागि जाडो समय नै उपयुक्त हुने सुझाव दिएका छन् । व्यक्तिहरूमा कोरोनाको सन्त्रास छ, मानसिक रूपमा अहिलेसम्म कोही पनि व्यक्ति प्रत्यक्ष रूपमा ओलम्पिकका खेलहरू हेर्ने साहस जुटाउन सकेका छैनन् । यस्तै हालत ओलम्पिकमा सहभागिता जनाउने खेलाडीहरूमा हुन सक्छ, त्यसैले बढ्न सक्ने सङ्क्रमणलाई मध्यनजर राख्दै सही समयमा ओलम्पिकको आयोजना गर्नुपर्छ । तर जापानी प्रधानमन्त्री योशीहिदे सुगाले टोकियो ओलम्पिकले विश्वमा आशा र साहस ल्याउने भन्दै खेलप्रेमी र खेलाडीहरूलाई निर्धक्क रूपमा प्रशिक्षण गर्न र ओलम्पिकको तयारीमा जुट्न अनुरोध गरेका छन् । त्यस्तै आईओसीका अध्यक्ष बाकले जापानको क्योदो न्युजसँग साक्षात्कार गर्दै निर्धारित समयमै टोकियो ओलम्पिक हुने प्रतिबद्धता जाहेर गरेका छन् ।

कोरोनाका कारण यतिबेलासम्म टोकियो ओलम्पिकको आयोजना हुने या नहुने द्विविधा नै छ । यस्तो अनिश्चिता छाएको अवस्थामा आयोजकले टोकियो ओलम्पिक विनादर्शक आयोजना गर्ने विचार–विमर्शमा जुटेको छ । विश्व आर्र्ईएएएफका अध्यक्ष सेबस्टियन न्यूबोल्ड कोएले विनादर्शकको टोकियो ओलम्पिक आयोजना पूर्व शर्त भएकोले यो खेलाडीहरूको लागि स्वीकार्य हुन सक्ने बताएका छन् । साथै कोयले कोरोना महामारीका कारण २०२० मा आयोजना हुनुपर्ने टोकियो ओलम्पिक एक वर्षको लागि स्थगित गर्नु परेको र अहिले पनि विश्वमा कोरोनाको प्रभाव त्यतिकै भएकोले अहिले पनि टोकियो ओलम्पिकको आयोजना अनिश्चित बनेको प्रतिक्रिया दिएका छन् । कोयले आफूलाई गर्मी समय र दर्शकहरूको उपस्थिति राम्रो लाग्ने भए पनि खेलाडीहरूको सुरक्षाका कारण दर्शकविनाको ओलम्पिकको आयोजना भए पनि आफूलाई केही फरक नपर्ने पनि बताएका छन् ।

कोयले भने– ‘गत वर्षको तुलनामा यो वर्ष हामीसँग भ्याक्सिन रहेको छ, जो विश्वका धेरै राष्ट्रमा लगाउने कार्य आरम्भ भइसकेको छ । आगामी महिनामा थुप्रै मानिसले भ्याक्सिन लगाउने हुँदा केही सुरक्षाको अनुभूति गर्न सकिन्छ । तर भ्याक्सिन नै सबै समस्याको हल भने होइन । भ्याक्सिनले हामीलाई सानो आशाको किरण देखाएको छ तर भ्याक्सिनमै निर्भर हुन चाहिँ सकिँदैन । यतिबेला खेलाडीहरू प्रशिक्षण रहेका छन्, उनीहरूलाई कोरोनाको भय र सन्त्रासबाट मुक्त गर्न मानसिक रूपमा पनि तयार गर्नुपर्ने हुन्छ ।’

यतिबेला जापान, युरोपलगायत विश्वका थुप्रै मुलुकहरूमा कोरोना भाइरसको नयाँ सङ्क्रमण देखिएका कारण टोकियो ओलम्पिकको आयोजनामा प्रश्नचिन्ह लागेको हो । जापानले टोकियो शहरलाई कोरोना सङ्क्रमणबाट मुक्त बनाए पनि युरोप र विश्वमा डँडेलो जसरी फैलिरहेको नयाँ कोरोना सङ्क्रमणले गर्दा त्यसको भयले खेलाडी र पदाधिकारीहरू चिन्तित बन्न पुगेका छन् । विश्वकै खेलाडी टोकियोमा आउने भएकाले एउटा खेलाडीमा मात्र सङ्क्रमण देखिए त्यसले ओलम्पिक खेललाई प्रभावित पार्ने देखिन्छ ।

तसर्थ, यतिबेला जापानका लागि ओलम्पिक खेलको सफल आयोजना जति चुनौतीपूर्ण छ त्यो भन्दा बढी खेलाडीको सुरक्षाको जिम्मेवारी भारी बनेको छ । यसको लागि आयोजक जापान र आइओसीले भविष्यमा कस्तो रणनीति अवलम्बन गर्दै खेलाडीहरूलाई खेल्ने वाताबरण तयार पार्दै टोकियो ओलम्पिकलाई निर्धारित समयमा आयोजना गर्छन् त्यो आमखेलप्रेमीको लागि चासोको विषय बनेको छ । जापान सरकारले आधिकारिक रूपमा टोकियो ओलम्पिकको बारेमा कुनै कुराको सार्वजनिक जानकारी नगरे पनि निजी रूपमा भने टोकियो ओलम्पिक कोरोनाका कारण रद्द गर्नुपर्ने निष्कर्षमा पुगेको छ ।