एसियाली सुटिङमा ११ नेपाली खेलाडी

एसियाली सुटिङमा ११ नेपाली खेलाडी


एसियाली सुटिङ महासङ्घको तत्वावधान तथा कुवेत सुटिङ सङ्घको आयोजनामा प्रथम एसियाली अनलाइन सुटिङ प्रतियोगिता माघ १६ गते शुक्रबारदेखि सुरु हुँदैछ ।

प्रतियोगितामा नेपालबाट ११ खेलाडीले सहभागिता जनाउने नेपाल सुटिङ सङ्घका अध्यक्ष पुष्पदास श्रेष्ठले जनाएका छन् । त्यसमा ६ पुरुष र ५ महिला खेलाडी छन् ।

व्यक्तिगततर्फ १० मिटर एयर राइफल र एयर पेस्तोलमा प्रतिस्पर्धा हुने छ । एयर राइफलको पुरुषमा कुमार कार्की, अर्नव घिमिरे र हरिबहादुर थापा तथा महिलामा कल्पना परियार, मीरा बन्जारा र सुस्मिता नेपालले प्रतिस्पर्धा गर्ने छन् ।

एयर पेस्तोलको पुरुषमा विपेश खड्का, सुखदेव चौधरी र बद्रुउद्दिन अन्सारी तथा महिलामा कृष्णा थापा र सरिता बस्नेतले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । सबै खेलाडीले २०७६ साल मंसिरमा नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा प्रतिस्पर्धा गरेका थिए ।

दुईदिने प्रतियोगितामा २२ राष्ट्रको सहभागिता निश्चित भइसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । नेपाली खेलाडीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको सुटिङ रेन्जमा प्रतिस्पर्धा गर्ने छन् ।