जिम्न्याष्टिक एकेडेमीको उद्घाटन

जिम्न्याष्टिक एकेडेमीको उद्घाटन


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को हातामा जिम्न्याष्टिक एकेडेमीको उद्घाटन गरिएको छ । २०७२ सालको भूकम्पले जीर्ण भएको पहिलेको जिम्न्याष्टिक हललाई भत्काएर पुनः सोही स्थानमा बनाइएको अर्को जिम्न्याष्टिक हल निर्माण गरिएको थियो । त्यही हललाई नेपाल जिम्न्याष्टिक सङ्घले एकेडेमीका रूपमा सञ्चालन गर्न लागेको हो ।

राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले एकेडेमीको एक कार्यक्रमबीच उद्घाटन गरे । सो कार्यक्रममा बुधबारदेखि सुरु हुने जिम्न्याष्टिक कोचेस कोर्स तालिमको पनि सदस्यसचिव सिलवालले नै उद्घाटन गरेका थिए ।

तालिममा उपत्यकाका २५ प्रशिक्षकको सहभागिता रहेको जिम्न्याष्टिक सङ्घका महासचिव मुकुन्दराज शर्माले जनाएका छन् । अन्य जिल्लामा पनि यस प्रकारको तालिम सञ्चालन गरिने महासचिव शर्माले जानकारी दिए ।

सहभागीलाई जिम्न्याष्टिकका मुख्य प्रशिक्षक राजेश्वरमान स्थापित, पूर्णमान बज्राचार्य, निरु दर्शनधारी डंगोल, सजनी मानन्धर र गुने नारायणले सञ्चालन गर्ने छन् । उद्घाटनका अवसरमा भक्तपुर जिल्लाका जिम्न्याष्टिक खेलाडीले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्यसचिव सिलवालले जिम्न्याष्टिक खेललाई व्यापक बनाउन र खेलाडी उत्पादन गर्न जिल्लामा पनि प्रशिक्षकलाई चलायमान बनाउनुपर्ने धारणा व्यक्त गर्दै देशव्यापी रूपमा खेलकुदलाई चलायमान बनाउन परिषद् लागिपरेको बताए । युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले खेलकुदको नयाँ ऐनले खेल क्षेत्रमा अझ सुशासन कायम गर्ने विश्वास व्यक्त गरे ।

नेपाल जिम्न्याष्टिक सङ्घका अध्यक्ष ध्रुवबहादुर प्रधानले जिम्न्याष्टिकको हल बनाउन भक्तपुरमा जग्गा प्राप्त गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको बताउँदै त्रिपक्षीय सम्झौता हुन बाँकी रहेको अवगत गराए । उनले प्रशिक्षक र खेलाडीको अपेक्षा पूरा गर्न सङ्घ प्रतिबद्ध रहेको बताए ।