प्रिन्सलाई जेष्ट ब्याडमिन्टन एकेडेमीको सम्मान

प्रिन्सलाई जेष्ट ब्याडमिन्टन एकेडेमीको सम्मान



नेपाली ब्याडमिन्टनका उदीयमान खेलाडी प्रिन्स दाहाललाई जेष्ट ब्याडमिन्टन एकेडेमीले सम्मान गरेको छ । वसुन्धारास्थित एकेडेमीको आफ्नै हलमा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल र एकेडेमीका अध्यक्ष मधुसुदन पाठकले दाहाललाई कदरपत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।

विश्व ब्याडमिन्टन महासङ्घको यु–१९ तर्फ बरियता क्रममा तेश्रो स्थानमा उक्लन सफल भइ राष्ट्र, ब्याडमिन्टन खेल, सङ्घ र खेल क्षेत्रको अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठा बढाउन सफल भएकोमा त्यसको कदर स्वरूप कदरपत्रद्वारा सम्मान गरिएको कदर पत्रमा उल्लेख गरिएको छ ।

सो अवसरमा ब्याडमिन्टन खेल सामाग्री उत्पादक संस्था योनेक्सको आधिकारिक बिक्रेता योनेक्स सनराइज नेपालको तर्फबाट प्रोपाइटर राजु बास्तोलाले प्रिन्सलाई ब्याडमिन्टन ¥याकेटसहित खेल सामाग्री प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राखेपका सदस्यसचिव रमेश सिलवालले प्रिन्सको उपलब्धिले विश्व खेल मञ्चमा नेपालीहरूको शान उच्च राख्न सफल भएको भन्दै आगामी दिनमा विश्व ब्याडमिन्टनको बरियतामा १ नं. मा उक्लनको लागि शुभकामना दिए । सिलवालले यसका लागि विभिन्न ¥याङ्किङ्ग प्रतियोगिताहरूमा सहभागिताका लागि परिषद्बाट सक्दो सहयोग गर्ने बताए । यस्तै सिलवालले प्रिन्सका मामा कमलेश निरौलालाई प्रिन्सको ब्यवस्थापन कार्यका लागि धन्यवाद प्रदान गरे ।

यस्तै, नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष एवम् नेपाल ओलम्पिक कमिटीका सचिव रामजीबहादुर श्रेष्ठले नेपालका उदीयमान खेलाडीलाई आजको अवस्थामा आइपुग्नका लागि नेपाल ब्याडमिन्टन सङ्घले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिताको पहलसहित सहयोग गरेको बताए । प्रिन्स दाहाल आजको अवस्थामा आइपुग्न परिवार र विषेशतः उनका मामा कमलेश निरौलको निकै नै सहयोग रहेको भन्दै उहाँहरूलाई धन्यवाद प्रदान गर्नुका साथै परिवारको सहयोगविना कुनै पनि खेलाडी अगाडि बढ्न नसक्ने बताए ।

एकेडेमीका अध्यक्ष पाठकले ब्याडमिन्टन खेलको विकास र विस्तारको उद्देश्यका साथ विगत ५ वर्षदेखि एकेडेमी सञ्चालन गर्दै विभिन्न राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्नुका साथै प्रिन्स दाहाल मात्र नभई रत्नजित तामाङ लगायत विभिन्न खेलाडीहरूलाई सम्मान गर्दै आइरहेको बताए । उनले प्रिन्सको उत्तरोत्तर प्रगतिका कामना गर्दै आगामी दिनमा अझ उच्च स्थानमा पुग्न शुभकामना प्रदान गरे ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवम् नेपाल ब्याडमिन्टन सङ्घका उपाध्यक्ष सुभाष श्रेष्ठ, सचिव नवीनविक्रम शाह, अन्तर्राष्ट्रिय निर्णायक एवम् काठमाडौं जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष दीपक थापा, अन्तराष्ट्रिय निर्णायकद्वय किरण कारञ्जित, उदय अर्याल, प्रमुख प्रशिक्षक सुदीप योञ्जन लगायत ब्याडमिन्टन खेल प्रेमीहरूको उपस्थिति रहेको थियो ।