डडेल्धुराको भित्री मधेश जोगबुढामा कभर्डहल निर्माण हुँदै

डडेल्धुराको भित्री मधेश जोगबुढामा कभर्डहल निर्माण हुँदै



डम्बर निदाल, डडेल्धुरा

डडेल्धुरा जिल्लाको भित्रीमधेश जोगबुढामा पहिलो कभर्डहल निर्माण भइरहेको छ । जिल्लाको परशुराम नगरपालिका मुकाम लालढुङ्गा बजारछेउमै कभर्डहल हल निर्माण भइरहेको हो ।

संघीय सरकारको शहरी विकास मन्त्रालयको आर्थिक सहयोगमा निर्माण भइरहेको जोगबुढा कर्भडहलको लागत २ करोड ९२ लाख रुपैयाँ रहेको छ । करिव पाँच सय जना क्षमता भएको कभर्डहल स्टिल प्रविधिमा निर्माण भइरहेको छ ।

दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७५ सालमा सम्झौता भएको थियो, तर कोरोना भाइरसको संक्रमणका कारण केही ढिलो गरी काम भइरहेको छ । छिट्टै काम सम्पन्न गर्ने गरि काम भइरहेको संघीय आयोजना कार्यान्वयन ईकाई कार्यालय धनगढी कैलालीका इन्जिनियर रविन बस्नेतले बताए ।

डडेल्धुरामा एउटा पनि कभर्डहल नहुँदा इण्डोरका खेल खेल्न समस्या हुने गरेको छ । जिल्ला सदरमुकाममा रहेको टिटी कभर्ड हल जिर्ण अवस्थामा रहेको र २०७५ असार ३० गते वर्षातका कारण भत्केकोले इन्डोर गेम खेलाउन थप समस्या हुने गरेको छ ।

समयमै कभर्डहल निर्माण भएसँगै खेलकुदका अभ्यास र प्रतियोगिता सञ्चालन गर्न सहज हुने भन्दै खेलाडी खुसी भएका छन् ।