वर्ल्ड टेनिस टुर जे-५ को पहिलो सर्किट सोमबारदेखि

वर्ल्ड टेनिस टुर जे-५ को पहिलो सर्किट सोमबारदेखि



नेपाल टेनिस संघको आयोजनामा वर्ल्ड टेनिस टुर-जे ५ को पहिलो सर्किट माघ १९ गते सोमबारदेखि सुरु हुने भएको छ ।

प्रतियोगितामा समान ३२ पुरुष-महिला खेलाडीको सहभागिता रहने आयोजक संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् । त्यसका लागि छनोट चरणका खेलहरू शनिबारदेखि शुभारम्भ भएका छन् ।

खेलाडीले हासिल गरेको अंकका आधारमा समान २२ पुरुष/महिला खेलाडीले स्वतः सर्किट १ मा खेल्ने पाउने छन् । समान ६ पुरुष/महिला खेलाडी छनोट चरणबाट छानिने छन् भने समान ४ पुरुष÷महिला खेलाडी वाइल्ड कार्डमार्फत सर्किट १ को ‘मेन ड्र’ मा प्रवेश पाउने छन् ।

प्रतियोगितामा नेपाल, भारत, फ्रान्स, उज्वेकिस्तान, काजाकस्तान, अमेरिका, वेल्जियम, स्पेन र जर्मनी गरी ९ राष्ट्रको सहभागिता रहेको प्रतियोगिता निर्देशक विष्टले जानकारी दिए । नेपालबाट १२ पुरुष र १४ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा सिंगल्स र डबल्स स्पर्धा हुनेछ ।

सर्किट २ फेब्रुअरी ८ तारिखदेखि हुने छ । दुवै सर्किटको पुरुषमा भारतीय खेलाडी र महिलामा नेपालकी अभिलाषा विष्टले शीर्ष बरियता प्राप्त गरेका छन् । खेलहरू सातदोबाटोस्थित टेनिस कोर्टमा हुने छ ।