प्रतिभा र इम मनोरञ्जन रमण शर्मा अवार्डबाट सम्मानित

प्रतिभा र इम मनोरञ्जन रमण शर्मा अवार्डबाट सम्मानित



नेपाली भलिबलका खेलाडी प्रतिभा माली र इमबहादुर राना मनोरञ्जन रमण शर्मा अवार्ड २०७७ बाट सम्मानित भएका छन् ।

नेपाल भलिबल संघले नक्सालस्थित क्राउन प्लाजामा आयोजना गरेको सम्मान कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल र संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले सम्मानित खेलाडीहरुलाई सम्मान गरे ।

नेपाली महिला भलिबल टिमकी सदस्य एवं मुख्य खेलाडी प्रतिभालाई उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता र गत बर्ष नेपालमा आयोजनामा भएको १३औँ दक्षिण एशियाली खेलकुदमा रजत पदक प्राप्त गर्दा गरेको उल्लेखनिय प्रदर्शनको मूल्याङ्कन गर्दै सम्मान गरिएको कदर पत्रमा जनाईएको छ । उक्त प्रतियोगितामा नेपाली टोली बिजयी नजिक हुँदा थोरै समय सम्हालिन नसक्दा स्वर्ण बाट बञ्चित भएको थियो ।

यस्तै नेपाली पुरुष भलिबल टिमका कप्तान इमबहादुरलाई विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा गरेको उच्च प्रदर्शन तथा २०१७ मा मालदिभ्समा आयोजना भएको तेश्रो एभिसी सेन्ट्रल जोन सिनियर मेन्स भलिबल टुर्नामेन्टमा नेपाली टिमको कप्तानका साथै उच्च प्रदर्शनका साथ कास्य पदक प्राप्त गर्न खेलेको भूमिकाको उच्च मुल्याङ्कन गर्दै सम्मान गरिएको कदर पत्रमा जनाईएको छ ।

सम्मानित खेलाडीद्वयले जनही नगद ३५ हजारसहित कदर पत्र र ट्रफी प्राप्त गरे । नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले स्थापना गरेका १० लाखको अक्षय कोषबाट प्राप्त हुने रकमबाट भलिबलका महिला र पुरुष दुई खेलाडीलाई प्रत्येक बर्ष नेपाल भलिबल संघले सम्मान गर्दै आईरहेको छ ।