आठ पटककी राष्ट्रिय च्याम्पियन नविताले खोलिन् ‘टेबल टेनिस एकेडेमी’

आठ पटककी राष्ट्रिय च्याम्पियन नविताले खोलिन् ‘टेबल टेनिस एकेडेमी’



काठमाडौंको खुसिवुस्थित पलेस्वान मार्गमा टेबल टेनिसको एकेडेमी सञ्चालनमा आएको छ । टेबल टेनिसकी आठ पटककी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ (महर्जन)को अग्रसरतामा उक्त एकेडेमी खुलेको हो ।

एकेडेमीको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले माघ १९ गते सोमबार एक कार्यक्रमबीच उद्घाटन गरे । एकेडेमीमा हाल तीन टेबल टेनिस बोर्ड रहेको छ ।

एकेडेमीको बारेमा जानकारी गराउँदै एकेडेमीकी संचालक नविताले धेरै अगाडिदेखि एकेडेमी संचालन गर्ने सोच रहेको र त्यसलाई परिवारको सहयोग र साथले साकार भएको बताईन् ।

‘डिप्लोमा पढ्दादेखि एकेडेमी संचालन गर्ने सोच बनाएको थिएँ । १३औँ सागपश्चात खेलाडी भन्दा पनि कोचको भूमिकामा आफुृलाई उभ्याउने सोच बनाएको थिएँ,, त्यसैलाई यथार्थता प्रदान गर्न एकेडेमी स्थापना गरेको हुँ’, नविताले बताइन् ।

विभिन्न देशमा जाँदा त्यहाँको एकेडेमी र टेबल टेनिसको विकासले आफुलाई यस क्षेत्रमा अघि बढ्ने प्रेरणा मिलेको नविताको कथन थियो । कतिपय राम्रा खेलाडी आर्थिक अभावका कारण तथा समयको अभावले पढाई र खेललाई संगसंगै लैजान नसक्नुले खेल बीचमै छोड्नु पर्ने अवस्था छ, अब त्यसलाई यस एकेडेमीले पूर्ति गर्ने उनले जानकारी दिइन् ।

नविताले आगामी दिनमा खेलाडीहरुको लागि विभिन्न विद्यालयमा छात्रवृत्तिका लागि पहल गर्नुका साथै छात्राबास समेत संचालन गर्ने सोच बनाएको बताइन् । यस कार्यले आगामी दिनमा उपत्यका बाहिरबाट आएका खेलाडीका लागि सहज हुनेछ । उनले आगामी दिनमा टेबल टेनिस खेललाई ब्यावसायिकतातर्फ अग्रसर गर्नुपर्नेमा समेत जोड दिइन् ।

एकेडेमीको उदघाटन गर्दै प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले एकेडेमी संचालन गरेकोमा शुभकामना प्रदान गर्दै खेल जीवनपश्चात खेलाडीहरुले भविष्यको सुनिश्चितता नहुनुका कारण विचमा नै खेल छोड्ने अथवा खेलमा उच्चता प्रदर्शन गर्न नसकेको बताए ।

उनले नविताले अन्य जीवन यापनको मार्ग नखोजी आफ्नै खेल क्षेत्रमा लगानीगरि जीवन यापन लगायत खेल क्षेत्रको बिकासमा लाग्ने जुन कदम उठाएको छिन् त्यसका लागि नविता लगायत परिवारलाई धन्यवाद प्रदान गरे ।

कार्यक्रमलाई शुभकामना प्रदान गर्दै नेपाल टेबलटेनस संघका अध्यक्ष, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजबैद्यले काठमाडौ र ललितपुरमा पनि एकेडेमी रहेको र सवैको उद्धेश्य भनेको स्तरिय खेलाडी उत्पादन गर्ने नै हो भन्दै एकेडेमीको उद्धेश्य प्राप्तिका लागि शुभकामना प्रदान गरे ।