प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुदलाई जीवनको अभिन्न अङ्ग बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको ‘खेलकुदसँग प्रधानमन्त्री’ अन्तरक्रियामा उनले त्यसको लागि खेलाडीहरूले खेलकुदलाई सामान्य जीवनको अङ्ग बनाउनु पर्ने धारणा राखे ।
प्रधानमन्त्री ओलीले नेपालको भू–बनोट नै खेलाडीहरूको लागि प्राकृतिक भएको र त्यसको कसरी सदुपयोग गरी उपलब्धि हासिल गर्ने त्यो महत्वपूर्ण कुरा भएको बताए ।
प्रधानमन्त्री ओलीले सम्पूर्ण खेलाडीहरुले पदक जित्नका लागि खेल्नुपर्ने बताउँदै स्वर्ण आफुले जित्ने र रजत, काश्य अरुलाई दिनुपर्ने बताए । त्यसको लागि खेलाडीले खुद मेहनत गर्नुपर्ने र उत्कृष्ट प्रशिक्षकको छनोट पनि खेलाडी आफैले गर्नुपर्ने बताए । उत्कृष्ट प्रशिक्षकविना पदक हासिल गर्न नसकिने हुँदा त्यसको चयन उत्कृष्ट नै हुनुपर्ने ओलीको कथन थियो ।
खेलकुद अनुत्पादक नभै उत्पादक क्षेत्र हो भन्दै शारीरिक र मानसिक रूपमा स्वस्थ्य रहन खेलकुदको ज्यादै महत्व रहने प्रधानमन्त्री ओलीले प्रस्ट पारे । १३औँ सागको आयोजना र नेपालले जितेको ५१ स्वर्ण पदक वेकारको लगानी उपलब्धिहीन नभै त्यसले राष्ट्रलाई स्वस्थ्य बनाउन विशेष भूमिका निर्वाह गरेको बताउँदै त्यो अर्थपूर्ण भएको प्रस्ट पारे ।
खेलकुदको बजेट घटेको कुरामा चर्चा गर्दै प्रधानमन्त्री ओलीले भने–त्यो कोरोना महामारीका कारण भएको हो, सन् २०२१ भित्रै कोरोना हटने र त्यसपछि खेलकुदको बजेट पनि बढ्ने बताए । साथै सरकारले खेलकुदको समग्र विकास र विस्तारको लागि विनाकन्जुस्याइँ सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।
आफुले खेलाडीहरूको धित मर्ने कार्य शुभारम्भ गरिसकेको र भविष्यमा पनि सरकारले सहयोगी भूमिका निर्वाह गर्ने बताए ।
प्रतिक्रिया