आईपीएलको १४औँ संस्करणमा स्टार खेलाडी दाउमा
- श्रीविक्रम भण्डारी

२०२१ मा सञ्चालन हुने इन्डियन प्रीमियर लीग (आईपीएल)को १४औँ संस्करणको लागि खेलाडीहरूको लिलामी १८ फेब्रुअरीका दिन चेन्नईमा हुने तय भएको छ । विश्वकै चर्चित क्रिकेट लिग आइपीएलका आठ वटा टीमले यो पटक १३९ खेलाडीलाई दोहऱ्याएका छन् भने ५७ खेलाडीलाई आफ्नो टीमबाट रिलिज गरेका छन् । जसमा सनराइजर्स हैदरावादले सबैभन्दा बढी २२ खेलाडी र रोयल च्यालेञ्ज बेङ्गलोरले सबैभन्दा कम १२ खेलाडीलाई दोहोऱ्याएको छ । यस्तोमा यो पटक आईपीएलमा धनको वर्षा हुने र खेलाडीहरू मालामाल हुने अड्कल काटिएको छ ।
भारत र इङ्गल्याण्डबीच हुने दोश्रो टेष्टको समापनको दोश्रो दिन अर्थात् १८ फेब्रुअरीमा आईपीए २०२१ को अक्सन हुनेछ । भारत र इङ्गल्याण्डबीच पहिलो टेष्ट ५–९ र दोश्रो टेष्ट १३–१७ फेब्रुअरी सञ्चालन हुँदैछ । आईपीएलको १४औँ संस्करणको लिलामी हुनुभन्दा पहिले सबै आईपीएलमा समावेस आठ टीमले विश्वका चर्चित खेलाडीका रिलिज गरेका छन् । यस्तोमा अक्सनमा यी चर्चित खेलाडीलाई खरिद गर्न आठवटै टीमले करोडौँ खर्च गर्न सक्ने देखिन्छ । करोडौँ खर्च गरिने प्रमुख तीन खेलाडीहरूमा राजस्थान रोयलका कप्तान स्टीव स्मिथ, रोयल च्यालेन्जर बैङ्गलोरका क्रिस मोरिस र किङ्ग एलेभन पञ्जावका ग्लेन म्याक्सवेल रहेका छन् ।
यो पटक राजस्थान रोयलले आफनो कप्तान स्टीव स्मिथलाई आईपीएल २०२१ को लिलामीअगाडि नै रिलिज गरेको थियो । लामो समयदेखि राजस्थान रोयलको कप्तानीको भूमिका निभाउँदै आएका स्मिथले विगतका वर्षमा उत्कृष्ट प्रदर्शन गरे पनि २०२० को आईपीएलको १३औँ संस्करणमा उनको प्रदर्शन सामान्य रह्यो । स्मिथले नाम अनुसारको अर्थात् सोचेबमोजिम प्रदर्शन गर्न सकेनन् ।
२०२० को आईपीएलमा १४ खेल खेलेका स्मिथले मात्र ३११ बनाएका थिए । आईपीएलको करियरमा ९५ खेल खेलेका स्मिथले ३५.४३ को औषतले २ हजार ३ सय ३३ रन बनाए पनि सतक प्रहार गर्न भने असफल भएका थिए । यतिबेला राजस्थान रोयलले स्मिथलाई रिलिज गरेपछि उनको भाउ आकासिएको छ । स्मिथ सबैभन्दा बढी रकममा बिक्री हुने खेलाडीको प्रमुख सूचीमा परेका छन् । रोयलले स्मिथलाई १२.५ करोडमा आफ्नो क्लबमा भित्र्याएको थियो ।
त्यस्तै सोचेअनुसारको उत्कृष्ट प्रदर्शन गर्न नसकेकै कारण रोयल च्यालेञ्ज बैङ्गलोरले अलराउण्डर क्रिस मोरिसलाई रिलिज गरेको छ । दक्षिण अफ्रिकाका अलराउण्डर मोरिसलाई २०२० को लिलामीमा बैङ्गलोरले १० करोडमा खरिद गरेको थियो । विश्वकै अलराउण्डरको रुपमा विख्यात मोरिसले आइपीएल २०२० मा ९ खेलमा ११ विकेट लिएर मात्र ३४ रन बनाएका थिए । जुन मोरिसको प्रतिभाअनुसार अपेक्षा गरिएभन्दा निकै कमजोर प्रदर्शन हो । २०२० को आएपीएलमा बलिङ र ब्याटिङ दुवैतर्फ निरासाजनक प्रदर्शन गरेपछि वैङ्गलोरले उनलाई रिलिज गरेको हो । गत संस्करणमा उत्कृष्ट प्रदर्शन गर्न नसके पनि मोरिस प्रतिभावान खेलाडी भएकोले उनलाई अन्य टीमले महङ्गो रकममा खरिद गर्न सक्ने अनुमान गरिएको छ ।

विश्व क्रिकेटमा विस्फोटक ब्याट्म्यानको रूपमा परिचित अष्ट्रेलियाका ग्लैन म्याक्सवेलको २०२० को आईपीएल बिर्सन लायक रह्यो । किङ्ग इलेवन पञ्जाबबाट खेल्ने म्याक्सवेलले २०२० को आईपीएलमा आफ्नो नामअनुसारको कुनै चमत्कार देखाउन सकेनन् । विस्फोटक ब्याट्सम्यान भएर पनि म्याक्सवेलले प्रतियोगिता अवधिभरि एउटा छक्का समेत प्रहार गर्न सकेनन् । आईपीएलको २०२० को संस्करणमा पञ्जाबले म्याक्सवेललाई १० करोड ७५ लाखमा खरिद गरेको थियो । तर खराब प्रदर्शनका कारण म्याक्सवेल पञ्जाबमा एक वर्ष पनि टिक्न सकेनन् । पञ्जाबले म्याक्सवेललाई लिलामी हुनुअगाडि नै रिलिज गरेको छ । आईपीएलका दुई संस्करणमा सोचेबमोजिम प्रदर्शन गर्न नसकेका म्याक्सवेललाई यो संस्करणमा पनि महँगो रकममा बिक्री हुने सूचीमा राखिएको छ ।
कुन टीमसँग कति रकम छ, उसले कति खेलाडी रिलिज गरेको छ, त्यो आधारमा आईपीएलको १४औँ संस्करणको लागि खेलाडीहरूको किनबेच हुनेछ । यो संस्करणका लागि कुन टीमसँग कति रकम छ र उसले एक खेलाडीको कति रकम खर्च गर्न सक्छ त्यो अहिले चर्चा र चासोको विषय बनेको छ । यतिबेला प्राय आठवटै टिम आफ्नो टोलीमा अनुभवी र युवा खेलाडी भित्र्याउने पक्षमा छन् । टीमलाई सन्तुलन राख्न उदीयमान खेलाडी नै अहिले यी टोलीको प्रमुख प्राथमिकतामा परेका छन् । जसको लागि यो पटकको अक्सन प्रयोगवादी हुने अनुमान लगाउन सकिन्छ । यसर्थमा कि विश्वका चर्चित उदीयमान युवा खेलाडीलाई लाखौँमा भित्र्याउन सकिने भएकोले पनि यो उपाय अवलम्बन गर्न सकिने देखिएको छ । यसर्थमा कि प्राय आठै टीमसँग विश्वका चर्चित खेलाडी छन्, जसमा केही खेलाडीलाई रिलिज गरिए पनि अन्यले टीममा आफ्नो स्थान बनाउन सफल भएका छन् ।
दुई पटकको विजेता कोेलकोता नाइट राइडर्सले आईपीएल २०२१को लिलामीभन्दा पहिले आफ्ना ६ खेलाडीहरूलाई रिलिज गरेको छ । विगत केहि संस्करणदेखि उत्कृष्ट प्रदर्शन गर्न नसकेको कोलकोतासँग अक्सनमा नयाँ खेलाडी खरिद गर्नको लागि १०.७५ करोड छ । त्यस्तै पाँच पटकको आईपीएल च्याम्पियन मुम्बई इन्डियनले लसिथ मलिङ्गासहित थुप्रै खेलाडीलाई रिलिज गरेको छ । युवा खेलाडीमाथि भरोसा गर्ने मुम्बईसँग अक्सनमा नयाँ खेलाडी खरिद गर्न १५.३५ करोड रहेको छ । २०२० को आईपीएलको १३औँ संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बनेको दिल्ली क्यापिटल्सले जेसन रोय, एलेक्स केरी र नेपालका संदीप लामिछाने गरी कुल ६ खेलाडीलाई रिलिज गरेको छ । अक्सनमा नयाँ खेलाडी खरिद गर्न दिल्लीसँग १२.९० करोड छ । युवा खेलाडीहरूको वर्चश्व रहेको दिल्लीले अक्सनमा युवा खेलाडीलाई प्राथमिकतामा राखेको छ ।
२०२१ को आईपीएलको १४औँ संस्करणमा राजस्थान रोयलले आफ्ना कप्तान स्टीव स्मिथलाई समेत दाउमा लगाएको छ । स्मिथसहित आठ खेलाडीलाई दाउमा लगाएको राजस्थानसँग नयाँ खेलाडी खरिद गर्न ३४.८५ करोड रहेको छ । एकपटक च्याम्पियन बनिसकेको राजस्थानले त्यसपछि सोचेअनुरुपको प्रदर्शन गर्न सकेको छैन । आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै आएको सनराइजर्स हैदरावादले आफ्ना पुरानै २२ खेलाडीलाई दोहऱ्याएको छ । यो बाहेक लिलामीमा नयाँ खेलाडी खरिद गर्न हैदरावादसँग १०.७५ करोड छ । उत्कृष्ट खेलाडीका बाबजुद पनि सोचेअनुरुप प्रदर्शन गर्न नसकेको बलिउड अभिनेत्री प्रिटी जिन्टाको किङ्ग इलेवन पञ्जाबले लिलामीभन्दा पहिले ग्लेन म्याक्सवेलसहित आफ्ना सात खेलाडीलाई रिलिज गरेको छ । अव नयाँ खेलाडी खरिद गर्न पञ्जाबसँग सबैभन्दा बढी ५२.२० करोड रहेको छ । पञ्जावले पनि युवा खेलाडीमाथि आँखा लगाएको छ ।
भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीसहित विश्वका धुरन्धर क्रिकेट खेलाडीले भरिपूर्ण रोयल च्यालेञ्ज बैङ्गलोरले अहिलेसम्म आईपीएलको उपाधि जित्न सकेको छैन । यो पटक बैङ्गलोरले डेल स्टेनसहित आफ्ना दस खेलाडीलाई रिलिज गरेको छ । योबाहेक नयाँ खेलाडी भित्र्याउन बैङ्गलोरसँग ३५.९० करोड छ । तीन पटकको आईपीएल च्याम्पियन चेन्नई सुपर किङ्गले लिलामी अगाडि आफ्ना पाँच खेलाडीलाई रिलिज गरेको छ । महेन्द्र सिंह धोनी कप्तान रहेको यो टीमसँग नयाँ खेलाडी खरिद गर्न २२.९० करोड छ ।
प्रतिक्रिया