सातौं संस्करणको अन्नपूर्ण पोस्ट् ‘राइड फर लाइफ’ साइकल र्याली सम्पन्न भएको छ ।
क्यान्सरविरुद्ध जनचेतना जगाउन र साइकलमैत्री समाज निर्माण अभियानमा टेवा पुर्याउने उद्देश्यले ‘क्यान्सरविरुद्ध चेतना छरौं, वातावरण जोगाएर, साइकल चढौं स्वस्थ रहौं भन्ने नाराको साथ साइकल र्यालीको आयोजना गरिएको थियो ।
साइकल र्याली तीनकुनेस्थित अन्नपूर्ण पोस्ट्को कार्यालय परिसरबाट सुरु भई गौशाला, चाबहिल, महाराजगन्ज, गोंगबु, बालाजु, सोह्रखुट्टे, लैनचौर, दरबारमार्ग, रत्नपार्क, भद्रकाली, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँबानेश्वर हुँदै पुनः तीनकुनेमै पुगेर समापन भएको थियो ।
र्यालीको उद्घाटन युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङ, अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापा, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, एनआरएनएका पूर्व अध्यक्ष उपेन्द्र महतो, क्यान्सर केयर फाउन्डेसनका अध्यक्ष तथा पूर्व महान्यायाधिवक्ता सुशील पन्त, डा. जेपी अग्रवाल, रथी प्रभुराम शर्मा, एआइजी पुष्पराम केसी, अन्नपूर्ण मिडिया नेटवर्कका ग्रुप डाइरेक्टर सचन थापा, ग्रुप सिईयो सनत न्यौपाने, सिईयो मानस घिमिरे लगायतले संयुक्त रुपमा गरेका थिए ।
उद्घाटन अवसरमा सहभागीसम्पूर्णलाई अन्नपूर्ण पोस्ट्का सम्पादक अखण्ड भण्डारीले स्वागत गरेका थिए । यसैगरी उद्घाटन अवसरमा क्यान्सर केयर फाउन्डेसनका अध्यक्ष तथा पूर्वमहान्यायाधीवक्ता सुशील पन्तले क्यान्सर रोगबाट बच्ने र सावधानी अपनाउने तरिकाबारे जानकारी गराएका थिए ।
नेपाल साइकल संघका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले साइकल खेल र यसको महत्वसँगै खेलाडीको उत्पादनका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा नेपाल साइकल सोसाइटीका अध्यक्ष रत्नराम श्रेष्ठले साइकल चढ्नुको महत्व र यसले वातावरणमा पार्ने सकारात्मक प्रभावका बारेमा बताएका थिए ।
अन्नपूर्ण पोस्ट् ‘राइड फर लाइफ’ साइकल ¥यालीको उपाधि श्रीनिशा श्रेष्ठले जितेकी छन् । र्यालीमा सहभागीमध्ये ‘लक्की ड्र’मार्फत छनोट गरिएको भाग्यमानी विजेतमा श्रीनिशा पर्न सफल भइन् । उपाधिसँगै उनले हिमालय क्रसकन्ट्री माउन्टेन बाइक पुरस्कार प्राप्त गरिन् ।
यसैगरी जियाओमी रेडमी नोट नाइन मोबाइल पुरस्कार अमृत काजी शाक्य, सिको घडी अशोका देवकोटा, सिम्रिक एयरको गोसाइँकुण्ड टुर प्याकेज उमेश थापा र अन्नपूर्ण पोस्ट्को ६ महिनाको निःशुल्क ग्राहक सेवा अमृत थापा र कर्मा ढोन्दुकले प्राप्त गरे ।
प्रतिक्रिया