गलत हल्लाको शिकार बन्दै टोकियो ओलम्पिक

गलत हल्लाको शिकार बन्दै टोकियो ओलम्पिक



अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)का अध्यक्ष थोमस बाकले टोकियो ओलम्पिक निर्धारित समयमा हुने बताएका छन् । गत साता टोकियो ओलम्पिक रद्द हुने भन्ने चर्चा चलेपछि बाकले यस्तो प्रतिक्रिया दिएका हुन् ।

यतिबेला टोकियो ओलम्पिकको बारेमा चलेको अड्कलबाजी र हल्लाप्रति बाकले असन्तुष्टि समेत ब्यक्त गरेका छन् । बाकले यस्तो अफवाह र चर्चाले ओलम्पिक खेलको तयारीका जुटेका हजारौं खेलाडीहरूको मनोबल टुट्ने बताएका छन् । साथै टोकियो ओलम्पिकलाई गलत हल्लाको शिकार बनाउन खोजिएको आरोप समेत लगाएका छन् ।

आयोजक समिति यतिबेला आईओसी र जापानसँग मिलेर कसरी टोकियो ओलम्पिकको सफल आयोजन गर्ने बारेमा योजना बनाइरहेका छ । यस्तोमा टोकियो ओलम्पिक आयोजनको बारेमा चलेको गलत चर्चाले ओलम्पिक खेललाई प्रभावित गर्ने कार्य गरेको अध्यक्ष बाकले बताएका छन् ।

गत साता जापान सरकारले टोकियो ओलम्पिक रद्द हुने हल्लाको खण्डन गरेको छ । जापान सरकारको यस्तो खण्डनपछि टोकियो ओलम्पिक निर्धारित समयमै हुने अनुमान गरिन थालिएको छ ।

बाकले टोकियो ओलम्पिकको सफल आयोजनाको लागि आईओसीको कार्यकारि बोर्ड बैठक मासिक रूपमा बसिरहेको बताएका छन् । यतिबेला टोकियो ओलम्पिकको बारेमा जुन अनुमान, अड्कल, हल्ला र चर्चा चलेको छ त्यो सत्य नभएको पनि बाकले जानकारी गराएका छन् । यस्ता हल्ला र चर्चाले खेल र खेलाडीहरूमा नकारात्मक प्रभाव पर्ने समेत बाकले खुलासा गरेका छन् । साथै उनले टोकियो ओलम्पिक आगामी २३ जुलाइबाट शुभारम्भ हुने र जसमा ३३ खेलका ११ हजार खेलाडीले भाग लिने बताए ।

बाकले भने यतिबेला खेलाडीहरूले विभिन्न पावन्दीको सामना गर्नु परिरहेको छ । स्वतन्त्र रूपमा अभ्यास गर्न पाएका छैनन्, अभ्यास गर्दा पनि चुनौतीको खेपिरहेको अवस्था छ । यस्तोमा खेलाडीहरूको ध्यान भड्काउने चर्चाले उनीहरूको मनोबल गिराउन मद्दत गर्नेछ । त्यसैैले टोकियो ओलम्पिकको बारेमा सकारात्मक धारणा राख्र्दै सन्देश फैलाउन बाकले अपिल गरेका छन् ।

गतसाता ‘द टाइम्स अफ लण्डन’ले एक वरिष्ठ जापानी अधिकारीलाई सम्बोधन गर्दै टोकियो २०३२ को ओलम्पिकको आयोजना गर्ने तयारी गर्दैछ भनेर लेखेको थियो । यो समाचार सम्प्रेषणपछि टोकियो ओलम्पिकप्रति प्रश्नचिन्ह लागेको थियो । साथै २०२१ मा पनि टोकियो ओलम्पिक हुने कुरामा समेत शङ्का उत्पन्न गराइदिएको थियो । ओलम्पिकको अर्को संस्करण सन् २०२४ मा फ्रान्सको पेरिस र २०२८ मा अमेरिकाको लस एन्जलसमा हुँदैछ ।