राष्ट्रिय खेलकुद परिषद्ले चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी ५ वटा भौतिक पूर्वाधार निर्माणसम्बन्धी स्थानीय उपभोक्ता समितिसँग सम्झौता गरेको छ ।
झापाको दमकमा निर्माण भइरहेको नारायणज्योति बहुउद्देश्य कभर्डहलको कम्पाउण्ड पर्खाल लगाउने कार्यका लागि राखेपले दश लाख उपलब्ध गराउने भएको छ । सो सम्बन्धमा राखेप सदस्यसचिव रमेशकुमार सिलवाल र उपभोक्ता समितिका अध्यक्ष केन्द्रबहादुर प्रसाईंबीच विराटनगरमा सम्झौता भएको छ ।
कम्पाउण्ड पर्खाल निर्माणमा ११ लाख २१ हजार ३ सय ६० रुपैयाँ पैसा ३१ लाग्ने अनुमान गरिएकोमा बाँकी रकम उपभोक्ता समितिले जुटाउने सम्झौतामा उल्लेख छ ।
विराटनगरस्थित बैजनाथपुर क्रिकेट खेल मैदान (पीच बाहेक) कटिङ गर्ने, सम्याउने, रोलिङ तथा वाटरिङ गरि सम्पूर्ण एरिया खेल्नयोग्य बनाउन राखेप सदस्यसचिव सिलवाल र उपभोक्ता समितिका अध्यक्ष मो. साद कुरेसीबीच सम्झौता भएको छ ।
बैजनाथपुर क्रिकेट खेल मैदान निर्माण गर्नका लागि ११ लाख ८१ हजार उन्चालिस रुपयाँ पैसा एकचालीस खर्च लाग्नेमा सम्झौता अनुसार राखेपले १० लाख उपलब्ध गराउने भएको भने बाँकी रकम उपभोक्ता समितिले जुटाउनु पर्नेछ ।
खाँदवारी खेल मैदानको (५ स्टेप भएको १५ मिटर लम्बाई) प्यारापिट निर्माणका लागि राखेपले १५ लाख उपलब्ध गराएको छ । राखेप सदस्य सचिवसिलवाल र उपभोक्ता समितिका अध्यक्ष रमेश श्रेष्ठबीच सम्झौता भएको छ । कुल १६ लाख २९ हजार ५ सय ६५ रुपयाँ पैसा तीन लाग्नेमा बाँकी रकम समितिले जुटाउनुपर्ने सम्झौतामा उल्लेख छ ।
सिराहाको गोलबजार एकीकृत खेल मैदानमा तार जाली जडानका लागि राखेपले १० लाख उपलब्ध गराउने भएको छ । एक सय असी मिटर तारजाली जडान गर्न कुल ११ लाख २८ हजार १ सय ७८ रुपैयाँ पैसा नब्बे लाग्नेमा बाँकी रकम उपभोक्ता समितिले जुटाउनुपर्ने छ । सो सम्बन्धमा राखेप सदस्य सचिव सिलवाल र समितिका अध्यक्ष राजाबाबु मगरबीच सम्झौता भएको छ ।
सुनसरीको बराहक्षेत्र स्थित वसन्तक्रृतु खेलमैदानमा गेट निर्माणका लागि राखेपले १० लाख रुपैयाँ उपलब्ध गराएको छ । विभिन्न साइजको ७ वटा गेट निर्माणका लागि ११ लाख २१ हजार २ सय ९६ रुपैयाँ पैसा सत्ताइस लाग्नेमा बाँकी रकम समितिले जुटाउनुपर्ने छ । सो सम्बन्धमा राखेपका सदस्य सचिव सिलवाल र समितिका अध्यक्ष खेम उदासबीच सम्झौता भएको छ ।
सम्झौता कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेप सदस्यद्वय हरि खड्का, रेनुका श्रेष्ठ, विभागीय प्रमुखद्वय कुलबहादुर थापा र अर्जुन विकलगायतको उपस्थिति रहेको थियो । सम्बन्धित स्थानीय उपभोक्त समितिका अध्यक्षबीच सम्झौता भएको हो ।
प्रतिक्रिया