भागरथीको हत्यारा चाँडै पत्ता लाग्नेमा प्रहरी विश्वस्त

भागरथीको हत्यारा चाँडै पत्ता लाग्नेमा प्रहरी विश्वस्त


सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ चेडेपानीकी १७ वर्षीया भागरथी भट्टको घटनालाई प्रहरीले साँघुरो बनाउँदै ल्याएको बताउनुभएको छ ।

भागरथी बलात्कार तथा हत्या घटनामा प्रहरी निकै चनाखो भएर घटनालाई साँघुरो बनाउँदै अघि बढेको जानकारी दिँदै डिआइजी सुवेदीले भन्नुभयो, ‘कतिपय अनुसन्धानका कुरा अहिले नै भन्न सकिँदैन, भागरथी घटना निकै साँघुरो बनाउँदै ल्याएका छौँ, चाँडै हत्यारा पत्ता लाग्नेमा विश्वस्त भएका छौँ ।’

भागरथीका हत्यारा तथा बलात्कारीको खोजी अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख (डिआइजी) सुवेदी र प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेयसहितको टोली बैतडीमै खटिएको छ ।

उक्त घटनाका हत्यारा अहिलेसम्म पनि कोही पक्राउ नपरेको भन्दै डोटी जिल्लासहित समग्र सुदूरपश्चिममा दिनहुँ विद्यार्थीले आन्दोलन गर्दै आएका छन् । भागरथी भट्टको हत्यारालाई चाँडो खोज गरी कारवाहीको माग गर्दै यहाँका सबै जिल्लामा प्रायः दैनिकजसो प्रदर्शन हुन थालेको छ ।

प्रदेश प्रहरी प्रमुख सुवेदीका अनुसार भागरथी भट्टको ‘भेजाइनल स्वाब’ परीक्षणका लागि काठमाडौँ पठाइएको छ । बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएकी उनको स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशङ्का गरिएकाले स्वाब परीक्षणका लागि पठाइएको उहाँको भनाइ छ । स्वाब परीक्षणपछि रिपोर्टले थप अनुसन्धानका लागि सहज हुने प्रहरीले अपेक्षा लिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार प्रहरीले भागरथीका आफन्तसँग सोधपुछ गर्नुका साथै शङ्कास्पद व्यक्तिमाथि बढी निगरानी बढाएर सुक्ष्म अध्ययन गरिरहेको जनाएको छ ।

यसका साथै तालीम प्राप्त कुकुरले भागरथीको हत्या भएको जङ्गल क्षेत्र पनि प्रहरीले ‘सर्च’ गरेको तर कुकुरले खासै ठोस प्रमाण भने भेटाउन सकेको थिएन । उनले प्रयोग गरिरहेको मोबाइलबाट पनि केही कुरा पत्ता लाग्ने प्रहरीको अनुमान छ ।