पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गमुनि राख्न लागिएको सुनको जलहरी प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत रहेको र यो कार्य रोकिनुपर्ने माग वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले अघिसारेका छन् ।
नेपाल सांस्कृतिक पत्रकार समाजले पशुपति क्षेत्रमा आयोजना आयोजना गरेको सुनको जलहरी विषयको सांस्कृतिक चिन्तन कार्यक्रममा पशुपति क्षेत्र विकास कोषको पूर्व कोषाध्यक्षसमेत रहेका वैद्यले यसअघि प्राचीन स्मारक संरक्षण ऐन बन्नुअघि नै राजा रणबहादुर शाहका पालामा शिवलिङ्गमुनि चाँदीको जलहरी राखिएको जानकारी दिँदै सम्पदा मास्न सुनको जलहरी राख्ने हठ कायमै राखे आफू अनशन बस्ने चेतावनी दिए ।
‘ऐन उल्लङ्घन गरी सुनको जलहरी राखेमा पाँच हजारदेखि एक लाखसम्म जरिवाना र पाँच वर्षसम्म कैद हुनसक्ने व्यवस्था छ, प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा १२ को खण्ड (ग) मा यस्तो व्यवस्था गरिएको छ’– बिहीबार आयोजित सो कार्यक्रममा वैद्यले बताए ।
यस्तै, सम्पदा संरक्षण अभियानमा लागेका कानून व्यवसायी सञ्जय अधिकारीले प्राचीन स्मारक संरक्षण ऐनको दफा २ मा सम्पदालाई मौलिक रूपमा दुरुस्त राख्नुपर्ने व्यवस्था भएकाले सुनको जलहरी राख्न नसकिने बताउँदै सुनको जलहरी राख्ने काम नरोके आफू रिट निवेदन लिएर सर्वोच्च अदालत जाने जिकिर गरे ।
पशुपतिका पालोवाला भण्डारी केदारमान भण्डारीले पशुपतिको प्राङ्गण बिस्तार गर्ने नाममा समेत सम्पदालाई नाश गर्ने काम भइरहेको खुलासा गरे । पशुपतिलाई विभिन्न भक्तजनले चढाएका गरगहनालगायत सुन, चाँदी र तामाका चीजबिजसमेत मर्मत नभई थन्किएकाले सम्पदा संरक्षणका लागि उपयुक्त कदम चाल्ने उनको भनाइ थियो ।
सोही कार्यक्रममा पशुपतिनाथका पालोवाला भण्डारी ओम भण्डारीले चाहिँ पशुपति मूल मन्दिरभित्र सुनको घण्टा, सुनको नागलगायत सामग्री बनिसकेकाले सुनको जलहरीलाई पनि कसैले रोक्न नसक्ने तर्क गरे ।
ज्ञातव्य छ, कोषले मूल मन्दिरभित्र सुनको जलहरी राख्न लागेको छ । यसका लागि सरकारले रु ३० करोड दिने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा छ । करिब एक अर्ब सुनको जलहरी बनाउन लाग्ने कोषले जनाएको छ । अरु रकम कोषले व्यवस्थापन गर्ने जनाइएको छ ।
प्रतिक्रिया