कार्य हस्तान्तरण
सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण र सबलीकरण, बुढानीलकण्ठमा धर्मशालाको निर्माण र कुमारी छेँ तथा कुमारी निवासको संरक्षण एवम् विकासका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशक तथा ठेकेदारहरूले बिहीबार तीन वटा ठेक्का सम्झौंतामा हस्ताक्षर गरेका छन् ।
भारतीय राजदूतावासको विकास साझेदारी एवम् पुनर्निर्माण विभागका प्रमुख, परियोजना परामर्शदाता INTACH, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का अधिकारी तथा अन्य साझेदारहरूको उपस्थितिमा उल्लिखित हस्ताक्षर सम्पन्न भएको हो ।
ललितपुरका मेयर, बुढानीलकण्ठ मन्दिरका मठाधीश, काठमाडौं वडा नम्बर न. २५ का वडाध्यक्ष, परियोजना क्षेत्रका उपभोक्ता समितिका प्रतिनिधिहरूसमेतको उपस्थितिमा सम्झौता-हस्ताक्षर भएको हो ।
भूकम्पपछिको संरक्षण तथा पुनर्स्थापनाका लागि भारत सरकारले नेपाल सरकारसँग गरेको सम्झौताअनुरुप निर्माण भइरहेका सांस्कृतिक सम्पदाभित्रकै यी तीन परियोजना रहेका छन् । नेपालका आठ जिल्लामा २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि भारत सरकारले प्रतिबद्धता गरेको ५० मिलियन अमेरिकी डलर अनुदान रकम प्रयोग गरी यी परियोजनाहरू कार्यान्वयन अवस्थामा रहेका सम्बद्ध पक्षले जानकारी दिएको छ ।
ज्ञात रहोस्, सेतो मच्छिन्द्रनाथ मन्दिर एक महत्वपूर्ण जीवित सम्पदा हो जुन काठमाडौंको जनबहालमा अवस्थित छ । काठमाडौं उपत्यकालाई रक्षा गर्ने प्रमुख मन्दिरहरुमध्येकै एक सेतो मच्छिन्द्रनाथ मन्दिरलाई हिन्दु र बौद्ध दुवै धर्मावलम्बीले पूजा आराधना गर्दछन् ।
करिब ६२.६ करोडको लागतमा उक्त मन्दिरको जीर्णोद्वार र सबलीकरण गरिने बताइएको छ ।

यस्तै, रत्नाकर महाविहारभित्र अवस्थित कुमारी छेँ पाटनकी जीवित देवीको ऐतिहासिक घर हो । कुमारी छेँ नेवार बौद्व समुदायको संस्कृति र परम्पराको केन्द्र हो र जीवित देवीसँग सम्बन्धित रीतिरिवाजहरुमा कुमारी निवासको महत्वपूर्ण सम्बन्ध छ ।
कुमारी छेँ र कुमारी निवासको संरक्षण एवम् विकासका लागि करिव ४५.६ करोड खर्च लाग्नेछ । दुई जीवित सांस्कृतिक सम्पदाको गौरवगाथा एवम् परम्पराको जगेर्ना गर्दै सेतो मच्छिन्द्रनाथ मन्दिर, कुमारी छेँ र कुमारी निवासको संरक्षण नेपालको प्राचीन स्मारक संरक्षण ऐन अनुसार संरक्षण गरिने सरोकारवालाहरूको भनाइ छ ।
यी परियोजनाहरुको निर्माण तथा संरक्षण एवम् सबलीकरण कार्य निरीक्षणका लागि Indian National Trust for Art and Cultural Heritage (INTACH) लाई परियोजना व्यवस्थापन परामर्शदाताको रूपमा चयन गरिएको छ । यी परियोजनाहरुको निर्माणमा INTACH ले नेपाल सरकारका अधिकारीहरुसँग मिलेर काम गर्ने बताइएको छ ।
यसैगरी, स्थानीय रूपमा नारायणथानको नामले परिचित बुढानीलकण्ठ मन्दिरभित्रको परिसरमा धर्मशाला अवस्थित छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) यस परियोजनाको कार्यान्वयन निकाय हो । करिब ३३.४ करोडको लागतमा सो धर्मशालाको निर्माण गरिने छ । उक्त पवित्र मन्दिरमा पुग्ने पर्यटक तथा तीर्थयात्रीका लागि सो धर्मशालाले सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । स्मरण रहोस्, यसअघि सन् २०१९ नोभेम्बरमा मित्रराष्ट्र भारतले बुढानीलकण्ठ मन्दिरका लागि करिब २.१८ करोडमा मठाधीशको निर्माण गरेको थियो ।
प्रतिक्रिया