नेकपा प्रचण्ड समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल शनिबार भारत प्रस्थान गरेका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि खनाल भारत गएका जनाइएको छ ।
खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार धर्मपत्नी रविलक्ष्मी चित्रकारसहित नियमित स्वास्थ्य परीक्षणका लागि खनाल नयाँदिल्ली गएका हुन् ।
यसअघि स्वास्थ्य परीक्षण गर्न खनाल चीन जाने गरेका थिए । यसपटक कोरोना भाइरस (कोभिड–१९) को कारणले भारत जानुपरेको बताइएको छ । चीन जाँदा अनिवार्य १४ दिन क्यारेन्टिनमा बस्नुपर्ने भएकोले उपचारका लागि भारत जानु परेको तर्क दिइए पनि नेता खनालको दिल्ली यात्रालाई विशेष चासोका साथ हेरिएको छ ।
स्वकीय सचिव भट्टराईका अनुसार नेता खनाल शनिबार नै स्वास्थ्य परीक्षणका लागि नयाँ दिल्लीको एपोलो अस्पतालमा भर्ना भएका र स्वास्थ्य परीक्षण गराएर चार दिनपछि स्वदेश फर्किने छन् ।
प्रतिक्रिया