‘सत्तरी वर्षमा सात वटा संविधान : नेपाल विघटन र पुनःस्थापनको गोलचक्करमा’

‘सत्तरी वर्षमा सात वटा संविधान : नेपाल विघटन र पुनःस्थापनको गोलचक्करमा’


कपिलवस्तु प्रतिनिधि

जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले मुलुक संसद् विघटन र पुनःस्थापनको गोल चक्करमा फसेको बताएका छन् । ७० वर्षदेखि मुलुक उही खेलमा फसेको उनले जिकिर गरे ।

प्रेस नेपाल कपिलवस्तुले तौलिहवामा अयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महतोले नेपालमा ७० वर्षमा ७ वटा संविधान आउनुले पनि देश संसद विघटन र पुनःस्थापनको खेलमै अल्झिएको बताए । ‘भारतमा ७० वर्षमा एउटा संविधान, अमेरिकामा अढाइ सय वर्षमा एउटा मात्र संविधान तर नेपालमा ७० वर्षमा ७ वटा संविधान आएको छ, तर पनि नेपालमा संसद विघटन र पुनःस्थापनाको खेल जारी छ’, उनले भने ।

शासन र सत्ता फेरिए पनि ब्यवस्था भने नफेरिएको भन्दै स्थायी समाधानका लागि सबैको भावना समेटने गरी संविधान निर्माण गर्नुपर्ने महतोले बताए । तत्कालमा संसद् पुनःस्थापना भए केही समाधान निस्के पनि दीर्घकालीन समाधानका लागि अहिले पनि लोकतान्त्रिक संविधान नबनाएसम्म केही नहुने तर्क उनले गरे ।

सत्ता लम्बाउनकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको आरोप महतोले लगाए । स्वार्थका लागि नै ओलीले संसदको विघटन गरेको दाबी गर्दै उनले केपी ओली अहिले अको अर्को ज्ञानेन्द्र बन्न खोजेको भन्दै घोषित निर्वाचन पनि अनिश्चित भएको औंल्याए ।

केपी ओलीको निर्वाचन निश्चित छैन, निर्वाचन भनेको स्वतन्त्र र निष्पक्ष हुनुपर्छ, दादागीरी र निरंकुशताको भरमा निर्वचन हुँदैन, निर्वाचन कहिले हुन्छ कसैलाई थाहा छैन भन्दै नेता महतोले प्रधानमन्त्रीको तीन वर्ष लुटतन्त्र भएको र काण्डैकाण्डबाहेक केही अन्य उपलिब्ध नभएको आरोप लगाए ।

पत्रकार सम्म्मेलनमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव, केन्द्रिय सदस्य रविदत्त मिश्रा, प्रदेश सदस्य सहसराम यादव, कैलाश अग्रहरी लगायतको सहभागिता रहेको पत्रकार सम्मेलनमा नेता महतोले जनता समाजवादी पार्टीमा कुनै विवाद र दुई मत नभएको जिकिर पनि गरे ।