विकास रौनियार, धादिङ
धादिङ पोष्ट डटकम र कारु स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा धादिङ जिल्लास्तरीय टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ । फागुन ७ गतेदेखि हुन लागेको प्रतियोगिता बेनिघाट रोराङस्थित चन्द्रोदय माविको खेल मैदानमा हुनेछ । प्रतियोगितामा १० टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक दिपेश कँडेलले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद २५ हजार र उपविजेताले १५ हजार प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट खेलाडीले ५-५ हजार प्राप्त गर्नेछन् ।
प्रजातन्त्र दिवसको अवसरमा आयोजना हुने यस प्रतियोगिताबाट उत्कृष्ट १५ खेलाडी छनोट गरी चितवन क्यानसँग समन्वय गरेर चितवन र धादिङबीच गौतम बुद्ध रंगशालामा मैत्रीपूर्ण खेल खेलाउने तयारी रहेको समेत कँडेलले बताए ।
प्रतियोगितामा बेनिघाट क्रिकेट टिम, विशालटार क्रिकेट टिम, मलेखु क्रिकेट टिम, गजुरी क्रिकेट टिम, त्रिपुरासुन्दरी क्रिकेट टिम, साङ्कोस क्रिकेट क्बल, गणेश हिमाल क्रिकेट टिम, धादिङ समाज क्रिकेट टिम र बैरेनी क्रिकेट टिम सहभागी हुनेछन् ।
प्रतियोगिताको टाइसिट बुधबार सार्वजनिक हुने आयोजकले जनाएको छ ।
राजधानीनजिकै रहेको जिल्ला धादिङमा पछिल्लो समय क्रिकेट गतिविधि बढिरहेको छ भने स्थानीय स्तरमा विभिन्न खालका प्रतियोगिताहरु भइरहेको छ । राष्ट्रिय स्तरमा खेल्ने खेलाडी तयार पार्न धादिङमा क्रिकेट प्रतियोगिताहरु आयोजना गरिएको कँडलले बताए । प्रतियोगिता तीन दिन सञ्चालन हुनेछ ।
प्रतिक्रिया