प्रहरीद्वारा बैतडीकी किशोरी भागरथी भट्टको हत्याका अभियुक्त सार्वजनिक गरिएलगत्तै अभियुक्त भनी पेश गरिएका किशोरबारे प्रहरीमाथि नै सवाल उठाइएको छ । विभिन्न मिडियाले दोषी भनिएका किशोर वास्तविक अपरााधी नहुन पनि सक्छन्, कतै निर्मला पन्त बलात्कार प्रकरणमा जस्तै अभियुक्त विवादमा पर्ने त होइनन् भनी सवाल उठाएपछि प्रहरीले आफ्नो डिफेन्स गरेको छ ।
सार्वजनिक गरिएका अभियुक्तबारे प्रहरी निश्चिन्त छ । विभिन्न कोणबाट अनुसन्धान गरेर माात्र अभियुक्त सार्वजनिक गरिएको दाबी प्रहरीको छ । घटना भएको समयमा यी आरोपी घटनास्थल क्षेत्रमा रहेको प्राविधिक अनुसन्धानले देखाएको, उनलाई त्यहाँ देख्ने मान्छे पनि भएको र उनले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले बुधबार बैतडीमा आयोजित पत्रकार सम्मेलनमा बताएको छ ।
सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले उल्लिखित दाबी गरेपछि सञ्चारकर्मीहरुले निर्मला पन्त हत्या प्रकरणमा पनि दिलिपसिंह विष्टले घटनामा आफ्नो संलग्नता स्विकारेको दाबी प्रहरीले गरेको तर पछि उसलाई त्यसै छाडिएको सन्दर्भ स्मरण गराउँदै आशंकायुक्त सवाल गरेका थिए । तर, डीआईजी सुवेदीले प्रहरीको अनुसन्धानमा शंका नगर्न र कुनै त्रुटि नराखी, घटनास्थलको मसिनो अनुसन्धानपछि आरोपित किशोरलाई नियन्त्रणमा लिएको जवाफ दिए । प्रहरीले मंगलबार मृतक भागरथी अध्ययन गर्ने स्कूलमै कक्षा ११ मा पढ्ने किशोरलाई पक्राउ गरेको हो । कक्षा १२ मा अध्ययन गर्ने भागरथी र ११ मा अध्ययनरत किशोर दुवै जना एकै गाउँका हुन् ।
डिआइजी सुवेदीले आरोपितले फरक दाबी गर्न सक्ने तर त्यसलाई प्रमाणले झुटो ठहर गर्ने दाबी गरे । मृतक किशोरीको भेजिनल स्वाब फरेन्सिक परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइसकेको र यसबाट भेजिनल स्वाबमा पुरुषको ‘बिर्य’ भए नभएको र, भए त्यसको डीएनए पत्ता लाग्ने उनले बताए । प्रहरीका प्राविधिक प्रमाणहरु बलियो हुनुपर्नेमा डीआईजी सुवेदी यसमा सचेत र एकप्रकारले ढुक्क पनि देखिएका छन् ।
प्रतिक्रिया