राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत र भारतीय राजदूतावासका नियोग उप-प्रमुखद्वारा शिलान्यास सम्पन्न
भारतीय राजदूतावासका नियोग उप-प्रमुख नामग्य सी. खम्पा र नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले काठमाडौंको कागेश्वरी नगरपालिकास्थित श्री कान्ति भैरव माध्यमिक विद्यालयको पुनर्निर्माण कार्यका लागि आयोजित शिलान्यास कार्यक्रममा संयुक्त सहभागिता जनाउनुभएको छ ।
समारोहमा कागेश्वरी नगरपालिकाका मेयर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव तथा श्री कान्ति भैरव विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूको पनि उपस्थिति थियो ।
शिक्षा, स्वास्थ्य, सांस्कृतिक सम्पदा तथा आवास क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारत सरकारले कूल २५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । दूतावासले जनाएअनुसार शिक्षा क्षेत्रका लागि भारतको ५० मिलियन अमेरिकी डलर प्रतिबद्धता रहेको छ ।

यस सहयोगअन्तर्गत नेपालका आठ जिल्लामा २०७२ सालको भूकम्पले क्षति पुऱ्याएका ७१ वटा शैक्षिक संस्थाहरूको पुनर्निर्माण भइरहेको छ । गोरखा र नुवाकोट जिल्लामा ८ वटा विद्यालयको निर्माण कार्य सम्पन्न भइसकेको छ भने ५६ वटा विद्यालय निर्माणाधीन अवस्थामा छन् । बताइएअनुसार त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालयको पुनर्निर्माणका लागि बोलपत्र आव्हानसम्बन्धी कार्य पनि अघि बढाइएको छ ।
२ करोड ६६ लाखको लागतमा पुनर्निर्माण भइरहेको श्री कान्ति भैरव माध्यमिक विद्यालय नेपाल सरकारले तोकेको भूकम्पप्रतिरोधी मापदण्डअनुरुप निर्माण हुनेछ । नवनिर्मित तीनतल्ले भवनमा ३० वटा कक्षा कोठा, पुस्तकालय र प्रयोगशाला/अभ्यास कक्षका साथै छात्र तथा छात्राका लागि छुट्टै सरसफाई संरचना तथा फर्निचरको व्यवस्था हुने बताइएको छ । यी विद्यालयहरूको निर्माणका लागि कन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्ने सम्बद्ध पक्षले जनाएको छ । केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) भूकम्पप्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतकै शीर्ष संस्थानमध्येको एक हो ।

सो अवसरमा ५१ करोड ८० लाखको लागतमा ६ वटा माध्यमिक विद्यालयको निर्माणका लागि भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) बीच एक सम्झौतापत्रमा हस्ताक्षर भयो । ६ वटा विद्यालयमध्ये कान्ति भैरव माध्यमिक विद्यालय, चम्पादेवी माध्यमिक विद्यालय, धापासी माध्यमिक विद्यालय, विष्णुदेवी माध्यमिक विद्यालय गरी चार वटा विद्यालय काठमाडौं जिल्लामा पर्दछन् भने बाँकी दुई वटा सिद्धेश्वर माध्यमिक विद्यालय र हरिसिद्धि माध्यमिक विद्यालय काभ्रे जिल्लामा पर्दछन् ।
कार्यक्रममा बोल्दै नियोग उप-प्रमुख श्रीमती खम्पाले भारत र नेपालबीचको बलियो र सशक्त विकास साझेदारी यस परियोजना शुभारम्भ कार्यक्रमले चरितार्थ गरेको बताउनुभयो । नेपालमा भूकम्पपश्चातको पुनर्निर्माण परियोजनालगायत नेपालको सामाजिक/आर्थिक विकासमा नेपाल सरकार तथा यसका निकायहरुसँग हातेमालो गर्दै दुई देशबीचको सहकार्यलाई अघि बढाउन भारत सदैव प्रतिबद्ध रहेको जानकारी नियोग उप-प्रमुखले गराउनुभयो ।

प्रतिक्रिया