प्रदेश प्रमुखबाट हटाइए परियार, प्रदेश २ को प्रमुखमा झा नियुक्त

प्रदेश प्रमुखबाट हटाइए परियार, प्रदेश २ को प्रमुखमा झा नियुक्त



प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गर्नुभएको छ ।

मन्त्रिपरिषद्को सिफारिसअनुसार संविधानको धारा १६५ को उपधारा (१) खण्ड (ख) बमोजिम परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

केपी ओली नेतृत्वको सरकारकै सिफारिसमा राष्ट्रपतिबाट २०७६ कात्तिक १८ गते परियार प्रदेश प्रमुखमा नियुक्त भएका थिए । तत्कालिन देउवा सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरी सातै प्रदेशमा नेकपानिकटलाई प्रदेश प्रमुख बनाइएको थियो ।

पदमुक्त भएका परियार पहिलो संविधानसभामा बाँकेबाट माओवादीको उम्मेदवार बनी संविधानसभा सदस्य निर्वाचित भएका थिए ।

यसैबीच प्रदेश २ को प्रदेश प्रमुखमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजेश झालाई नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा १६३ को उपधारा २ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा झालाई राष्ट्रपतिबााट प्रदेश प्रमुख नियुक्त गरिएको हो ।