प्रमुख आयुक्त थपलियाद्वारा तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने उद्घोष

प्रमुख आयुक्त थपलियाद्वारा तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने उद्घोष



सरकारद्वारा घोषित आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने आयोगको अर्जुनदृष्टि रहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् ।

पाँचौ निर्वाचन दिवसका अवसरमा निर्वाचन आयोगमा शुक्रबार आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले इतिहासको विरासत र साखलाई खुम्चन नदिइ उत्कृष्ट निर्वाचन व्यवस्थापन निकायको रुपमा आयोगलाई पहिचान दिलाउन कृतसङ्कल्पित भइ निरन्तर प्रयासरत रहने प्रतिवद्वता व्यक्त गरे ।

आयोगले विक्रम सम्वत् २०१५ मा पहिलो पटक मतदान भएको दिनलाई स्मरण गर्दै सम्वत् २०७३ सालदेखि प्रत्येक वर्षको फागुन ७ गते निर्वाचन दिवस मनाउँदै आएको छ ।

यस वर्षको निर्वाचन दिवसको मूल नारा ‘निर्वाचनमा सबै, सधैँ, सँगै’ भन्ने रहेको थियो ।

सरकारले आगामी वैशाख १७ र २७ गते गरी दुई चरणमा निर्वाचन गर्ने घोषणा गरेअनुरुप आयोग आन्तरिक तयारीमा तीव्र रुपमा जुटिरहेको छ ।

राजनीतिक दलले निर्वाचनका लागि उपयुक्त वातावरण तयार गर्नुपर्ने जनाउँदै प्रमुख आयुक्त थपलियाले भने- ‘स्वच्छ, स्वतन्त्र र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्न/गराउन प्राविधिक तथा व्यवस्थापकीय रुपमा आयोगसक्षम छ, हुन्छ ।’

आयोगका पदाधिकारी तथा सचिवालयका कर्मचारी आयोगको सभाहलमा र जिल्ला निर्वाचन कार्यालयका कर्मचारी भर्चुअल माध्यमबाट सहभागी भई आयोजना गरिएको उक्त कार्यक्रमको प्रमुख आयुक्तले डिजिटल प्रविधिबाट उद्घाटन गरेका थिए ।

सो अवसरमा निर्वाचन आयुक्त नरेन्द्र दाहाल र डा. जानकीकुमारी तुलाधरले आसन्न निर्वाचन सम्पन्न गर्न सबै राजनीतिक दल, मतदाता, सरोकारवाला र कर्मचारीलाई आ–आफ्नो भूमिका र जिम्मेवारी निर्वाहका लार्गि क्रियाशीलता दर्शाउनु पर्ने आह्वान गरे ।

निर्वाचन दिवसकै अवसरमा ‘निर्वाचन’ विषयमा आयोजित कविता वाचन प्रतियोगिता उपसचिव कोमलप्रसाद धमला प्रथम, जिल्ला निर्वाचन कार्यालयका अधिकृत टेकबहादुर कोइराला दोश्रो र जिल्ला निर्वाचन कार्यालयअधिकृत कोपिला राई तेश्रो घोषित भए ।

समारोहमा २० वर्ष वा सोभन्दा बढी अवधि सेवा गरेका १४ कर्मचारीलाई प्रशंसापत्र र नगद पुरस्कारबाट सम्मानित तथा निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा उत्कृष्ट कार्यसम्पादन गर्ने आयोग र मातहत कार्यालयका सात जना कर्मचारीलाई ‘उत्कृष्ट कर्मचारी पुरस्कार’ सहित प्रशंसा गरिएको थियो ।