भवन निर्माण र शिलान्यासमै गुज्रियो महान्यायाधिवक्ताका तीन वर्ष

भवन निर्माण र शिलान्यासमै गुज्रियो महान्यायाधिवक्ताका तीन वर्ष



‘निर्माण वर्ष’ बनेको महान्यायाधिवक्ता खरेलको प्रष्टोक्ति

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफ्नो तीनवर्षे कार्यकालमा भौतिक निर्माणका काममा बितेको बताएका छन् । महान्यायाधिवक्ता भएर पद सम्हालेको तीन वर्ष पुगेको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले आफ्नो कार्यकालमा चार अर्बभन्दा बढीको मुख्य कार्यालयदेखि अन्य सरकारी वकिलको कार्यालयमा भवन निर्माण गर्न खर्च गरेको जानकारी दिए ।

तोकिएको समयभन्दा छिट्टै महान्यायाधिवक्ताको भवन निर्माण गरेको उल्लेख गर्दै उनले करिव एक अर्ब ९० करोडको लागतमा राम्रो भवन निर्माण गरेको र ३८ वटा भवन बनाउने शिलान्यास गरेको खुलासा गरे ।

५० भन्दा बढी जिल्लामा इन्टरनेट प्रणालीको विकास भई काम शुरु गरेको र बाँकी जिल्लामा पनि कोभिडको कारण रोखिएको काम पुनः शुरु गरेको जानकारी दिँदै पुँजीका हिसाबले आफ्नो कार्यकालमा ठूलो लगानी गरेको महान्यायधिवक्ता खरेलले बताए । ‘यो सरकारी वकिलको कार्यालयलाई भौतिक तथा प्राज्ञिकरूपमा सुविधा सम्पन्न बनाउनुपर्ने जरुरी थियो, त्यो काम भएको छ, अब सरकारी वकिलले तालीम, अध्ययनमार्फत आफ्नो क्षमता विकास गर्न जरुरी छ’– उनको भनाइ थियो ।

महान्यायाधिवक्ता खरेलले आफ्नो कार्यकालमा सरकारी वकिलको क्षमता विकासका लागि २०० भन्दा बढी वकिललाई विदेशमा अध्ययन तालीमको व्यवस्था गरेको जानकारी पनि गराए । यसलाई आगामी दिनमा पनि निरन्तरता दिने र पाँच वर्षमा सबै सरकारी वकिलको कार्यालयको नयाँ भवन निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको उनले बताए ।

आगामी वर्ष सुधारात्मक दण्ड व्यवस्थापमा ध्यान दिएर कारागार व्यवस्थापनमा ध्यान दिने र सरकारी वकिलको क्षमता अभिवृद्धि गरी व्यावसायिक बनाउन पूर्ण प्रयास गर्ने योजना रहेको महान्यायाधिवक्ता खरेलले जानकारी दिए ।